घरघरमा धारा आएपछि स्थानिय हर्षित


     एभरेस्ट आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित




दमौली । तनहुँको घिरिङ गाउँपालिकाको प्रत्यक घरघरमा धारा जडान भएपछि स्थानियबासी हर्षित भएका छन् । हालसम्म खानेपानी सुविधा नपुगेका गाउँमा स्वच्छ खानेपानी पु¥याउन गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्रता दिएपछि स्थानिय हर्षित भएका हुन् । त्यहाका स्थानियले खोला तथा पधेराको पानी उपभोग गर्दै आईरहेका थिए।

सोही अभियानअन्तर्गत वडा नं–५ स्थित च्याचुल गाउँमा खानेपानी सुविधा पुगेको छ । समुन्द्र सतहबाट एक हजार ५० मिटर उचाइमा अवस्थित उक्त गाउँमा अलैची खानेपानी योजना निर्माण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए । गाउँपालिकाको रु ६२ लाखको लागतमा निर्माण गरिएको सो योजनाबाट ४६ घरधुरीमा खानेपानी विस्तार गरिएको छ ।

गत वर्षदेखि निर्माण सुरु गरिएको खानेपानी योजना कोरोना सङ्क्रमणका कारण केही समय ढिला भएको थियो । घरघरमै धारा जडान भएको खुसीयालीमा उनीहरूले नाचगानसमेत गरेका छन् । धारा नहुँदा यहाँका बासिन्दालाई खानेपानीका लागि कुवा र पधेराको भर पर्नुपर्दा बिहानैदेखि पानीको जाहो गर्नुपर्ने चिन्ता हुन्थ्यो । अहिले घर घरमै धारा पुगेपछि अब उनीहरूलाई उक्त चिन्ता हटेको छ ।

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले खानेपानीको सुविधा नपुगेका हरेक घरमा पानी पु¥याउने लक्ष्यका साथ अगाडि बढेको र सुविधा नपुगेका ठाउँमा एक घर एक धारा अभियान सञ्चालन गरिएको उनको भनाइ थियोे ।

गण्डकी प्रदेश सरकार, गाउँपालिका, पश्चिम नेपाल निर्वाचन क्षेत्र विकाश कार्यक्रमलगायतको सहयोगमा खानेपानी सुविधा नपुगेका गाउँबस्तीमा खानेपानी पु¥याउने अभियान सञ्चलन गरिएको हो । हालसम्म गाउँपालिकाका एक हजार ७०० घरधुरीमा एक घर एक धारा पुगेको र ४५० घरधुरीमा धारा पुग्ने तयारीमा छ ।

घिरिङ गाउँपालिका–१ स्थित पल्लो गढीगाउँ, पोख्रेलटोल, लामादी, खापा पुट्टार, जगौली र पुत्गाउँमा खानेपानी सुविधा पुगिसकेको छ भने कटहरे, बैडी, भन्सार, अत्रौली पुट्टारमा खानेपानीको काम भइरहेको छ । प्रादेशीक भौतिक पूर्वाधार विकास मन्त्रालयको रु दश करोड ६० लाख ६७ हजार ९०९ को लागतमा पाँच वटा योजना निर्माणाधीन अवस्थामा छन् । प्रथम योजनाअन्तर्गत कटहरेमा रु दुई करोड पाँच लाख ८३ हजार एक ११९, दोस्रो योजनाअन्तर्गत पुट्टारमा रु दुई करोड १४ लाख ६८ हजार ६२१, तेस्रो योजनाअन्तर्गत बैडीमा रु चार करोड आठ लाख १३ हजार ४२४, चौँथो योजनाअन्तर्गत भन्टारमा रु ५९ लाख १०४ र पाँचौँ योजनाअन्तर्गत अत्रौलीमा रु एक करोड ७३ लाख दुई हजार ६४० को लागतमा खानेपानी योजना निर्माण हुँदैछ ।

वृहत खानेपानी योजनाबाट ५९७ घरधुरी लाभान्वित हुने भएका छन् । डिभिजन खानेपानी कार्यालयका अनुसार कटहरेका ८६, पुट्टारका ८५, बैडीका २४२, भन्टारका ३९ र अत्रौलीका १४५ घरधुरी लाभान्वित हुनेछन् ।स्थानीयवासीले दश प्रतिशत श्रमदान गर्नुपर्ने यी सबै योजना विसं २०७९ असार २४ सम्म सम्पन्न गर्र्नुपर्ने संझौतामा उल्लेख छ ।

घिरिङ–२स्थित देउराली, छानुङ, आरामकोट, बोहोछाप, दुम्कोट, घुर्लीछाप, माहोरकोट, कोलडाँडा, घ्याछाप, फलानठाँटी, काठेकोट, छानुङमानुङ, गजरकोटमा प्रत्येक घरमा खानेपानी सुविधा पुगेको छ । सोही वडाको भोरकोटामा खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा छ । घिरिङ–३ स्थित काफलडाँडा, सिलिङखोला, लामोचौतारी, बाहुनचौतारी, घिरिङ हटिया, गैराथोक, डाँडाथोक, आर्चमबासका प्रत्येक घरधुरीमा खानेपानी सुविधा पुगेको छ भने नेवापानी, पोखरीछापमा खानेपानी योजना निर्माणाधीन अवस्थामा छ । घिरिङ–४ स्थित कोटसाभुङ, धाब्दी, बट्यौलीटारमा घरघरमा खानेपानी पुगिसकेको र रामकोट, ठामडाँडा, फूला सिफ्लुङ, करुवाटार, पुर्कोटमा सो योजना सम्पन्न हुने चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।