नवलपुर । केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताईन् ।
उनका अनुसार बोर्डरलाई सुरक्षित पार्नका लागि त्रिवेणी स्वास्थ्य चौकीबाट भन्सारमा हेल्थ डेस्क राखिएकाले सीमा हुँदै नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाईएको छ । त्रिवेणी भन्सार खुलेको भए पनि यस नाकाबाट यात्रुबाहेक अन्य मालसामान भने आयात निर्यातको काम उनको भनाइ छ ।
“त्रिवेणी भन्सार हुँदै यात्रु मात्रै आवातजावत गर्दैछन्, मालवाहक सवारीसाधन यो नाकाबाट भित्रिएका छैनन्”, प्रजिअ पङ्गेनीले भने, “२२ डिसेम्बरबाट पटनाले भन्सार खोल्ने भन्ने सुनेका छौँ, त्यसपछि यो नाकामा अझै कडाइ गर्नेछौँ ।” त्रिवेणी भन्सारबाट बिहान भारततिर जाने र बेलुका घर फर्किने तथा बाल्मीकी आश्रम जाने मानिस मात्रै आवातजावत गरेको भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गर्न लगाइएको बताए ।
कोरोना भाइरस सङ्क्रमण कम हुँदै गएको अवस्थामा पछिल्लो समय स्वास्थ्य सतर्कतामा लापरबाही भइरहेको उनको भनाई छ । साथै बालबालिकाका लागि मोडर्ना खोप लगाउन सुरु गरिएको भन्दै प्रजिअ पङ्गेनीले ज्येष्ठ नागरिकलाई भेरोसिलको बुस्टर डोज लगाउनेबारे तयारी भइरहेको जानकारी दिए ।
कोरोना भाइरस सङ्क्रमण बढ्न सक्ने भन्दै उनले जिल्लामा हुने कार्यक्रममा स्वास्थ्य मापदण्ड लागू भए नभएको अनुगमन गरिरहेको बताए । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले आजदेखि जिल्लाका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







