बागलुङ । बागलुङमा ‘वीरेन्द्र ऐश्वर्य पार्क (उद्यान)’का नाउँमा चिनिएको समीक्षालयलाई व्यवस्थित बनाइने भएको छ । झण्डै १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको उद्यान अब व्यवस्थापन गरेर नयाँ बनाउन लागिएको हो ।
नगरपालिकाले सो उद्यानलाई व्यवस्थित बनाएर नगरभित्रको आर्कषक गन्तव्य बनाउन लागेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । यसका लागि नगरपालिकाले डीपीआर बनाइसकेको छ । चालु आर्थिक वर्षभित्रै काम सक्ने लक्ष्य राखिएको छ । २०६२÷०६३ सालको जनआन्दोलनमा उद्यानमा रहेका तत्कालीन राजा तथा रानीको मूर्ति ढालेपछि यो उद्यान बेथितिका रुपमा रहेको थियो ।
सरसफाइ नगर्ने, खुला र अव्यवस्थित बनाउँदा फोहर थियो । पछिल्लो समय केही फोहर कम भए पनि व्यवस्थापन थिएन । तर गतवर्ष उद्यानको दक्षिण किनारामा रहेको ट्राफिक कार्यालय भत्काएपछि तत्काल उद्यान व्यवस्थापन गर्ने योजना थियो ।
चालु वर्षको बजेटमा एए कन्स्ट्रक्सन प्रालिले रु ९६ लाखमा ठेक्का लिएर काम गरिरहेको हो । नगरपालिकाले व्यवस्थापनको काम गरेको छ । “ पानी नजम्ने, आर्कषक र व्यवस्थित पार्क बन्नेछ”, इञ्जिनीयर मनोज शर्माले भने , “यो उद्यानले नगरकै पहिचान झल्कने बनाउने योजना छ ।” उद्यान व्यवस्थापन गरेपछि फूल रोप्ने, बस्ने स्थान र बजारकै गौरव गर्न लायक उद्यान बन्ने वडा नं. २ का अध्यक्ष जीवन आचार्यले बताए ।
यसअघिको मूर्तिहरु फालेपछि खाल्डामा जमेको पानी दुर्गन्धित थियो । बालबालिका सहजै प्रवेश गरेर खेल्दा ती खाडलमा पर्ने जोखिम थियो । केही समय यहाँको छाप्रोमा वडा कार्यालय सञ्चालनमा आयो । अहिले वडा कार्यालय पुरानो जिविसका भवनमा सरेको छ । त्यसपछि उक्त छाप्रोमा एउटा तालिम हल बनाइएको छ । एकातर्फ ट्राफिक प्रहरीको अस्थायी कार्यालय राखिएको छ । तर व्यवस्थित उद्यानसँगै शौचालय पनि राख्नुपर्ने स्थानीयवासीको माग छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







