होस्टलका वार्डेनले विद्यार्थीको पिसाब फेर्ने अंगमा रबर बाँधिदिए


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७८ मा प्रकाशित




पोखरा, पुस ५

विद्यार्थीको हेर बिचार गर्न होस्टलमा वार्डेन राखिन्छ । उसको काम नै विद्यार्थीको खानपान, रहनसहन र पढाईबारे ख्याल राख्नु हो । उसो त वार्डेनलाई कतै आमा त कतै शिक्षककै रुपमा हेरिन्छ । आमा भनेको मायालु अनि शिक्षक भनेको गुरु । अर्थात शिक्षाको उज्यालो छर्ने । आमा र गुरुलाई भगवानकै रुपमा हेरिन्छ ।

तर पोखराका एक वार्डेनले विद्यार्थीको हेरचाह गर्नुको सट्टा उल्टै यातना दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वरचोकमा रहेको न्यू–लाईफ स्कुलमा आश्रित डोल्पाका ५ वर्षिय नाबालक रेमन बुढालाई होस्टल वार्डेन जानुका नेपालीले यातना दिएकी हुन् । हिमालयन गुडलाईफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलकी वार्डेन नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर रेमनको पिसाब गर्ने ठाउँ (लिङ्ग)लाई रबरले बाँधि दिएर यातना दिएकी छन् । रेमन मात्र होईन होस्टलमा बस्ने अधिकांशलाई उनले यसरी नै यातना दिने गरेको पीडित विद्यार्थीहरु बताउँछन् ।

बुबा नभएका र आर्थिक अवस्था कमजोर भएर आमाले पालनपोषण गर्न नसकेपछि रेमन केहि समय अगाडिदेखि उक्त होस्टलमा बस्दै आएका थिए । उनीसँगै त्यहाँ ९ जना बालबालिका बस्ने गर्छन् । सो होस्टलका ५ जना विद्यार्थी पोखरा–१५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययन गर्दै आएका छन् । रेमन भने कक्षा नर्सरीमा अध्ययनरत छन् ।

सदाझैं सोमबारपनि रेमन र उनका साथीहरु कक्षामा बसिरहेका थिए । शिक्षिका सिर्जना कँडेल विद्यार्थीलाई पढाउन कक्षामा गईन् । कक्षामा पुग्ने वित्तिकै एक जना विद्यार्थीले आफूले रबर भेट्टाएको भन्दै उक्त रबरले कट्टुमा पिसाब फेर्नेको पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँध्न मिल्छ भन्दै शिक्षिका कँडेललाई दिएछ । शिक्षिका कँडेल विद्यार्थीको कुरा सुनेर आश्चर्यचकित भईछन र भनिछन्,‘कसले भन्यो यस्तो नचाहिने कुरा ? ।’ तत्कालै विद्यार्थीले जवाफ दिएछ, ‘रमनको पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँधेको छ नपत्याए हेर्नु त’ । नभन्दै रमनलाई शिक्षिकाले हेर्दा त उ रोईरहेको भेटियो । लगत्तै रेमनको कपडा खोलेर हेर्दा उनको पिसाब फेर्ने ठाउँ (लिङ्ग) रबरले बाँधिएको थियो । जसका कारण उनको (लिङ्ग)मा रबरको डाम थियो भने पेट फुलेको थियो ।

शिक्षिकाले कसले हो यसरी बाँधिदिएको भनेर सोध्दा रेमनसँगै अध्ययनरत होस्टल वार्डेन जानुकाकी छोरीले ‘हाम्रो ममिले’ पिसाब नफेरोस् भनेर बाँधिदिएको भनेपछि घटनाको खुलाशा भएको विद्यालय श्रोतले जनाएको छ । पछि पीडित विद्यार्थी रेमनलेपनि होस्टल वार्डेन जानुकाले आफ्नो पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँधिदिएको बताएका छन् ।

जानुकाले रेमनलाई मात्र होईन, होस्टलमा बस्ने अन्यलाईपनि बारम्बार यस्तै यातना दिने गरेको पीडित विद्यार्थी बताउँछन् । उनले रेमनलाई यस्तो यातना दिएको दोश्रो पटक हो । यसअघीपनि यस्तै यातना दिएको रेमनले बताएका छन् । जानुकाले होस्टलमा रहेका छात्रहरुको पिसाब फेर्ने ठाउँ (लिङ्ग) मात्र होईन छात्रा (केटी)हरुलाई पनि यातना दिने गरेको बताईन्छ । उनले ओछ्यानमा पिसाब फेरेको दिन जसले पिसाब फेरेको हो उक्त छात्राको पिसाब फेर्ने (गुप्ताङ्ग)मा मैनवत्ती बालेर झोसिदिने गरेको पीडितको आरोप छ ।

तर पीडक भनिएकी जानुकाले घटना घटाएको स्वीकारेकी छैनन् । घटना सार्बजनिक भएलगत्तै विद्यालयमा बोलाएर गरिएको सोधपुछमा उनले आफूले विद्यार्थीको पिसाब फेर्ने ठाउँ (लिङ्ग)मा नबाँधेको जिकीर गरिन् । तर होस्टल सञ्चालक राहुल नेपालीले भने घटनाको जिम्मेवारी लिदै अब आईन्दा घटना नदोहो¥याउने प्रतिबद्धता जनाएका छन् ।

घटना लुकाउने शर्तसहित गरिएको सम्झौता पत्रमा उनले आगामी दिनमा यस्ता घट्ना दोहोरिए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताएका छन् । सो सम्झौता पत्रमा होस्टल वार्डेन जानुका नेपालीका श्रीमान किसन नेपालीलेसमेत हस्ताक्षर गरेका छन् । सम्झौतासँगै घटना ढाकछोप गरिएको छ भने प्रहरीमा जाहेरी नदिएकाले पीडितले उन्मुक्ति पाउने देखिएको छ । यद्वपी होस्टल सञ्चालक राहुलले पीडक जानुकालाई होस्टलबाट निकाल्ने मौखिक प्रतिबद्धता जनाएका छन् ।

पीडित विद्यार्थी रेमन बुढाको बाँधिएको पिसाब फेर्ने ठाउँ (लिङ्ग) ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।