एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण


     एभरेस्ट आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए ।

नेपाली कांग्रेसको प्रदेश नं २ को अधिवेशनका लागि आज जनकपुरधाम पुगेका गृहमन्त्री खाँणले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा अगाडी बढेको भन्दै उक्त सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए । उनले देश विकासका लागि सरकारले नै एमसीसीको प्रस्ताव अघि बढाएको भन्दै एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे ।

सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना अघि बढेको मन्त्री खाँणले स्पष्ट पारे । एमसीसी संसद्बाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलबीच छलफल चलिरहेको उल्लेख गर्दै उनले निष्कर्ष निस्किने र अगाडि बढ्ने बताए ।

मन्त्री खाँणले भने, “एमसीसीबारे केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण, रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण, ट्रान्समिशन स्थापना र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । त्यसलाई अमेरिकाले स्वीकार गरेको छ । यो निःशर्त अनुदान हो ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।