माओवादी केन्द्र गलकोटको नेतृत्व चयनमा सकस


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित




बागलुङ । नेकपा (माओवादी केन्द्र)ले बागलङको गलकोट नगरपालिकामा नेतृत्व टुङ्ग््याउन सकेको छैन । अधिवेशन चलेर बन्दसत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी केन्द्र अझै चयन गर्न नसकेको हो ।

सो पार्टीले गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो । महिना दिन बित्दासमेत न सहमतिमा नत निर्वाचनको प्रक्रियामै उक्त पार्टी जान सकेको छ । त्यही कारण नेतृत्वप्रति गलकोटका नेता, कार्यकर्ता असन्तुष्ट छन् । नेतृत्वमा सहमति नभए प्रक्रियामा लैजानुपर्ने माग उठ्न थालेको छ ।

माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले आकाङ्क्षी बढी भएपछि अध्यक्षलगायत पदाधिकारीमा तत्काल सहमति जुट्न नसकेको बताए। उनका अनुसार अधिवेशनले ६५ सदस्यीय नगर समिति भने सर्वसम्मत् निर्वाचित गरिसकेको छ । सोही समितिले पदाधिकारी चुन्ने विधानत व्यवस्था छ ।

समितिले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी सात पदाधिकारी चुन्नेछ । उनले सहमतिमै नेतृत्व टुङ्गो लाग्ने दाबी गरे । पार्टीको नगर अध्यक्षमा हालका अध्यक्ष ललित श्रीस, तिलक उप्रेती, गङ्गा भुजेल, चन्द्रदत्त रेग्मी, राज थापा र चन्द्रबहादुर थापा ‘शिखर’ आकाङ्क्षी छन् । सबै पार्टीको जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् ।

अध्यक्षका दाबेदार उप्रेतीले सहमतिमै पदाधिकारी चुनिने विश्वास व्यक्त गरे । “अन्तिमसम्म सहमतिकै प्रयास हुन्छ नत्र निर्वाचनको विकल्प त छँदै छ”, उनले भने, “पार्टी केन्द्रको पनि सहमतिमै जोड छ, राष्ट्रिय सम्मेलनपछि हामी बसेर टुङ्गाउँछौँ ।” उप्रेती यसअघि पनि नगर अध्यक्ष भइसकेका नेता हुन् । जतिसक्दो चाँडो पदाधिकारी चयन गरेर पार्टीका कामलाई गति नदिने हो भने कार्यकर्ता तहमा निराशा छाउने उप्रेतीको भनाइ छ ।

नेतृत्वको दाबी गरिरहेका सबैजना पार्टीमा लामो पृष्ठभूमि भएका र योगदान गरेका व्यक्ति हुन् । जनयुद्धदेखि शान्ति कालका पछिल्ला दिनसम्म सबै पार्टीका जिम्मेवारीमा क्रियाशील छन् । पदाधिकारी सर्वसम्मत चुन्ने प्रयास असफल भएपछि महिनौसम्म अधिवेशन स्थगित हुनुलाई कार्यकर्ताले नेतृत्वको असफलताको रुपमा लिएका छन् । स्थानीय माओवादी कार्यकर्ता राजेन्द्र श्रेष्ठले गुटगत राजनीति, व्यक्तिगत स्वार्थ र एकाअर्कालाई सम्मान नगर्ने प्रवृत्तिका कारण समस्या निम्तिएको बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।