म्याग्दीको बेनी नगरपालिका१ आनन्दबगरमा भइरहेको अवैध नदी दोहनको अनुगमन गर्दै प्रजिअ गणेशबहादुर अधिकारीसहितको सुरक्षा अधिकारीको टोली । तस्वीर : सन्तोष गौतम
पर्वत । पर्वतको कुश्मा नगरपालिका– १ मालढुङ्गास्थित कालीगण्डकी नदी किनारका मजदुरले कालीगण्डकीबाट बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै आन्दोलित बनेका छन् । नदीजन्य पदार्थ उत्खननमा प्रशासनले रोक लगाएपछि उनीहरु आन्दोलित बनेका हुन् । मजदुरले कुश्मा नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग नदीजन्य पदार्थ उत्खनन् गर्न दिन माग गरेका हुन् ।
सङ्घर्ष समिति बनाएर आन्दोलनरत मजदुरले जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन् । सर्वोच्च अदालतले केही समयअघि नदीजन्य वस्तु एस्काभेटर लगाएर दोहन गर्न नपाउने गरी अन्तरिम आदेश दिएको थियो । उक्त आदेशकै कारण प्रशासन र नगरपालिकाले खनीखोस्री गरेका मजदुरलाई पनि अवरोध गरेको मजदुरको गुनासो छ । मजदुरलाई बेरोजगार बनाएर काम गर्न नदिएको भन्दै कि अर्को काम चाहियो, कि भने बालुवा झिक्न पाउनुप¥यो भन्दै उनीहरुले नगरपालिकामा ज्ञापन बुझाएका हुन् ।
उनीहरुले आफ्नो जीवनको सुरक्षासमेत गरिदिन आग्रह गरे । नदीमा एस्काभेटर लगाएर बालुवा झिक्दा नदीको बहावै फेरिएको भन्दै विवाद आउने गरेको थियो । ठेकेदारले नदी दोहन गरेको विषयमा अदालतमा मुद्दासमेत परेको थियो । तर यसअघिका उच्च अदालतका आदेश पालना भएका थिएनन् । प्रशासनले रोक लगाएपछि पर्वत र बागलुङतर्फ समेत उत्खनन रोकिएको छ । मजदुरले भने रोक लगाएकै भए पनि डोजरलाई हुनुपर्ने भन्दै खनीखोस्री गरेर घर तथा अन्य निर्माणका लागि सामग्री तयार गर्ने काममा रोक लगाउँदा मजदुरको दैनिकी मात्र नभई घर बनाउन चाहनेका लागि पनि समस्या भएको बताएका छन् ।
बालुवाका भरमा परिवार पाल्दै आएका कमला थापाले आफ्नो रोजीरोटी खोसिएको गुनासो गर्नुभएको छ । उनले नदीको बालुवामा आश्रित परिवार भोकभोकै भएको बताए । मालढुङ्गाका अप्सरा विक र दानमती माझीले पनि बालुवा झिकेर बिहान बेलुकाको छाक टार्दै आउनुभएको छ । स्थानीय सरकार र जिल्ला प्रशासनले मजदुरलाई कि बालुवा निकाल्न दिनुपर्ने कि वैकल्पिक रोजगारी दिनुपर्ने माग गरिएको माझी र विकले बताए । कालीगण्डकी नदीमा आश्रित मजदुर निरन्तररुपमा आफ्ना माग लिएर सरकारी कार्यालयमा धाइरहे पनि समस्या समाधान भएको छैन । मालढुङ्गाका झण्डै २०० परिवारले कालीगण्डकी नदीबाट बालुवा उत्खनन गरेर जीविकोपार्जन गर्दै आएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







