राष्ट्रिय सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने माओवादीको तयारी


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : पुष्प कमल दाहाल प्रचण्ड अध्यक्ष, नेकपा माओवादी केन्द्र

काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले अव हुन लागेको प्रथम राष्ट्रिय सम्मेलन मार्फत नयाँ क्रान्तिकारी विचार र पाटी निर्माण गर्ने तयारी गरेको छ । सोही सम्मेलनको लागी सम्पूर्ण तयारी पूरा भएको छ ।

पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक,वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिएका हुन् । चिनियाँ क्रान्तिका नायक माओको जन्मजयन्तीको सन्दर्भ पारेर माओवादीले यही पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन आयोजना गर्नेभएको छ । माओ दिवस यही पुस ११ गते परेको छ ।

राष्ट्रिय सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ । प्रवक्ता महराले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई त्यसतर्फ निर्देशित गर्ने उद्देश्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन लेखिरहेको जानकारी दिए । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकले अनुमोदन गरेपछि मात्र राष्ट्रिय सम्मेलनमा पेश हुनेछ ।

महाधिवशेन र राष्ट्रिय सम्मेलन फरक हुने भन्दै उहाँले राष्ट्रिय सम्मेलनले विचार र पार्टी निर्माण गर्ने बताए । सम्मेलनमार्फत फरक ढंगबाट पार्टी निर्माण गर्ने संकल्प लिइने उनले बताए । क्रातिको नयाँ कार्यभार तथा नेपाली जनताको आकांक्षा पूरा गर्न नयाँ पार्टीको आवश्यकता रहेको भन्दै उहाँले सम्मेलनले त्यसतर्फ अविचलितरुपमा लाग्ने पार्टी निर्माण गर्ने बताए ।

सम्मेलनमा एक हजार ५०० बढी प्रतिनिधिको सहभागिता हुनेछ । सम्मेलनमा प्रदेश प्रतिनिधि ८०३, केन्द्रीय प्रतिनिधि २७, केन्द्रीय विभागबाट १०२, आयोगबाट ७५, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय सल्लाहकारबाट १४९ र आयोजक समितिका तर्फबाट १७९ प्रतिनिधि सहभागी हुनेछन् । त्यसमा जनयुद्धका घाइते, अपाङ्गता भएका, पूर्वजनमुक्ति सेनाबाट पाँच प्रतिशत मनोनित गरिनेछ ।

माओवादीले राष्ट्रिय सम्मेलनको तयारीस्वरुप यसअघि सेल, टोल, वडा, शाखा, महाशाखा, पालिका र प्रदेश सम्मेलन सम्पन्न गरिसकेको छ । पत्रकार सम्मेलनमार्फत माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ । लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नारा लेखिएको छ । लोगोभित्र विश्व कम्युनिष्ट आन्दोलनका अग्रज नेताको प्रतीक राखिएको छ । यस्तै पार्टीको झण्डा र निर्वाचन चिह्न राखिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।