पोखरा, पुस ७
थकाली युवाहरुको राष्ट्रिय भेला पोखरामा शुरु भएको छ । थकाली सेवा समिति, केन्द्रीय युवा समितिको आयोजनामा बुधबारदेखि पोखरामा प्रथम थकाली राष्ट्रिय युवा भेला शुरु भएको हो । भेलाको लुम्बिनी प्रदेश प्रमुख अमीक शेरचनले उद्घाटन गरे ।
भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले सामाजिक उत्तरदायित्व वहन गर्न थकाली युवाहरुलाई आग्रह गरे । जुनसुकै समुदायको पहिचानपनि राष्ट्रियताकै कारण हुने भन्दै उनले भने,‘राष्ट्रियता बिना कुनैपनि समुदायको पहिचान र अस्तित्व रहन्न । यदी नेपाल नै रहेन भने हामी नेपालीपनि कहाँ रहन्छौं र ? नेपाली नै भईंदैन अनि हामी थकालीपनि रहँदैनौं ।’ प्रदेश प्रमुख शेरचनले राष्ट्रिय हितमा काम गर्नसमेत आग्रह गरे । ‘राष्ट्रिय एकताका लागिपनि तपाईं युवाहरुको भूमिका हुनुपर्छ’–उनले भने ।
प्रदेश प्रमुख शेरचनले थकालीहरुको जनसंख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे । साथै उनले थकालीहरुलाई एकताको सुत्रमा बाँध्नुपर्ने बताउँदै भने,‘थकालीहरु सम्पन्नताको क्षेत्रमा अगाडि छ । अब पहुँचको क्षेत्रमा पनि अग्रसर हुनुप¥यो ।’
‘धर्म, संस्कृति हाम्रो परम्परा, संरक्षण, संवद्र्धन युवाहरुको अभिभारा’ भन्ने मूल नाराका साथ पुस ११ गतेसम्म चल्ने भेलामा देशभरका १९ क्षेत्र र विदेशका ३ क्षेत्रगरी २२ क्षेत्रका युवाहरुको सहभागिता रहेको थकाली राष्ट्रिय युवा समितिका तदर्थ समिति संयोजक योगेन्द्र शेरचनले जानकारी दिए । थकाली युवाहरुलाई आफ्नो भेषभूषा, संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्न उत्प्रेरित गर्ने उद्धेश्यले भेला आयोजना गरिएको उनले बताए ।
भेलाको अवसरमा ‘थकाली युवा, अवसर, चुनौति र सम्भावना’ विषयक बहस आयोजना गरिदैछ । बहसमा विभिन्न क्षेत्रका प्रतिष्ठित एवम् प्रबद्ध व्यक्तिहरुको सहभागिता रहने संयोजक शेरचनले जानकारी दिए ।
त्यस्तै, उक्त अवसरमा थकाली युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण दिइदैछ । थकाली समुदायका बीचमा आपसमा सम्पर्क, समन्वय एवम् भाईचारा वृद्धि गर्दै थकाली युवाहरुको आत्मबल बृद्धिसहित व्यक्तित्व र नेतृत्व विकासका लागि प्रशिक्षण दिइन लागेको संयोजक शेरचनले बताए । ‘गाँस, बास र कपासको जोहो गर्न भन्दै हामी थातथलो छाडेर हिमालबाट पहाड र तराई झ¥यौं, कतिपय युवाहरु विदेशसमेत पलायन भए, जसका कारण हाम्रो भाषा, संस्कृति, परम्परा, भेषभूषा लोपोन्मुख अवस्थामा गयो, त्यसैका जगेर्ना गर्ने उद्धेश्यले प्रशिक्षण राखेका हौं’–उनले भने । कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहालले प्रशिक्षण दिदैछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





