दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ का बासिन्दाले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाएका छन् । इलाका प्रहरी कार्यालय देवघाटले बिहीबार आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले आत्महत्या रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता जनाएका हुन् ।
सो क्रममा ३०० भन्दा बढीले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । स्थानीयवासीले ‘जीवनमा आइपर्ने हरेक कठिन परिस्थितिको सामना गर्नेछु तर आत्महत्या गर्ने छैन’, लेखिएको व्यानरमा हस्ताक्षर गरेका थिए । आत्महत्या समस्याको समाधान नभएको उनीहरुको भनाइ छ ।
पछिल्लो समय बढ्दै गइरहेको आत्महत्याको घटनालाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायब निरीक्षक सुशील लामिछानेले जानकारी दिए। देवघाटमा गत एक वर्षको अवधिमा तीन जनाले आत्महत्या गरेका छन् । “आत्महत्या समस्याको समाधान होइन, यसको रोकथामका लागि स्थानीयवासी जागरुक हुनुपर्छ, स्थानीयवासीकै सहभागितामा सचेतनामूलक कार्यक्रम गरेका हौँ”, उनले भने । गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले जुनसुकै समस्या आइपरे पनि त्यसको समाधान आत्महत्या नभएकाले यसको रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।
चार विद्यालयमा विद्युतीय पुस्तकालय
व्यास नगरपालिकाका चार विद्यालयमा विद्युतीय पुस्तकालय निर्माण गरिने भएको छ । नगरपालिकाले शिक्षा मन्त्रालयको सहकार्यमा नगर क्षेत्रभित्र सञ्चालित चार विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न लागेको हो । विद्यार्थीलाई पछिल्ला विकास प्रविधिमा आबद्ध गरी नवीनतम् ज्ञान उपलब्ध गराउने नीतिबमोजिम विद्युतीय पुस्तकालय स्थापना गर्न लागिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रराज रेग्मीले जानकारी दिए ।
विद्युतीय पुस्तकालय स्थापनाका लागि सबै विद्यालयसँग प्रस्तावना माग गरिएको र विद्यालयहरूले नगरपालिकामा प्रस्तावना पेश गरेको रेग्मीले बताए । “पेश भएका प्रस्तावनाउपर छलफल गरेर विद्यालय छनोट अन्तिम चरणमा पुगेको छ, एक-दुई दिनभित्रै विद्यालय छनोट भएपछि पुस्तकालय स्थापनाको काम अगाडि बढ्छ”, रेग्मीले भने । विद्युतीय पुस्तकालय स्थापनाका लागि प्रत्येक विद्यालयलाई रु. छ लाख ५० हजारका दरले बजेट उपलब्ध गराइनेछ ।
सूचना र प्रविधिको विकाससँगै विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने नीति लिइएको छ । बिनाइन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएसँगै परम्परातरूपमा सञ्चालन हुँदै आएका पुस्तकालयको विकल्पमा रूपमा विद्युतीय पुस्तकालयको माग बढेको छ । नगरपालिकाले तीन विद्यालयमा आइसिटी स्थापना गर्ने भएको छ । ती विद्यालयलाई रु. ५० हजारका दरले बजेट प्रदान गरिनेछ । त्यस्तै तीन विद्यालयका लागि विज्ञान प्रयोगशाला र पाँच विद्यालयमा विद्यालय सामग्री खरिदका लागि रु. ५० हजारका दरले बजेट उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







