ऐतिहासिक ओदानडाँडा संरक्षणमा जुट्दै सरोकारवाला


     एभरेस्ट आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित




गलकोट । ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको काठेखोला गाउँपालिका–७ रेशस्थित ओदानडाँडाको संरक्षण थालिएको छ । ऐतिहासिक ओदानको संरक्षण गरेर राखिएको उक्त क्षेत्र लामो समयदेखि ओझेलमा परेपछि स्थानीयवासीको सक्रियतामा सो ऐतिहासिकस्थलको संरक्षण थालिएको हो ।

बाइसे÷चौबीसे राज्यअन्तर्गत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको कृत्रिम ओदान संरक्षित गरेर राखिएको उक्त डाँडाको नाम पछि ओदान खसे हुँदै ओदानडाँडाको नामकरण गरिएको थियो । चट्याङ पर्दा खसेको ओदानको एक खुट्टा खसेपछि दुईखुट्टे ओदान संरक्षण गरेर ओदानडाँडा मन्दिरमा राखिएको छ ।

उक्त क्षेत्र भौगोलिक हिसाबले भिरको छेउमा रहेकाले उक्त स्थान तारबार गर्ने, ओदानडाँडा क्षेत्र विस्तार गर्ने र उक्त स्थानमा पुग्ने पदमार्ग निर्माणकार्य भइरहेको स्थानीयवासीको भनाइ छ । स्थानीयवासीले ओदानडाँडा मन्दिर तथा संरक्षण नामक संस्था दर्ता गरेको स्थानीयवासी विष्णुप्रसाद गौतमले जानकारी दिए । अहिले ओदानडाँडाको संरक्षणका लागि गाउँपालिका गुरुयोजना बनाएर अगाडि बढेको छ । ओदानडाँडा पुर्खाहरूको तपोभूमि तथा ऐतिहासिक र धार्मिक तीर्थस्थलका रूपमा रहेकाले यसको संरक्षण गर्न थालिएको स्थानीयवासी प्रजापपति गौतमले जानकारी दिए ।

बाइसे÷चौबीसे राज्यका पालामा राजाले यस स्थानमा कोट निर्माण गर्न थालेपछि गौतम थर गरेका विज्ञ पुजारीले उक्त स्थानमा बज्र अर्थात् चट्याङ खस्ने र कोट तथा दरबार क्षति हुने बताएपछि राजा रिसाएर पुजारीलाई कारबाही गरेको तर उक्त स्थानमा विज्ञले भनेजस्तै गरी ओदानसहितको बज्र खस्दा एक खुट्टा भाँचिएको ओदान भेट्टिएपछि त्यसलाई संरक्षण गरी राखिएका कारण उक्त स्थान ऐतिहासिक, पुरातात्विक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीयवासी यज्ञराज गौतमले जानकारी दिए । उक्त स्थानमा अहिले भिरोला जमिनतर्फ पर्खाल लगाउने, ट्रस्टको सत्तल बनिसकेको छ । मन्दिरको नाममा अहिले ११ आना जग्गा रहे पनि उक्त जग्गालाई निःशुल्क लिएर तीन रोपनी जग्गा बनाउने स्थानीयवासी रामचन्द्र गौतमले जानकारी दिए ।

उक्त स्थानमा अहले गणेश, ओदान र शिवको मन्दिर रहेको छ । स्थानीयवासीले झण्डै रु चार लाख उठाएर तारजाली गरेका छन् भने काठेखोला गाउँपालिकाको रु तीन लाख योजनामा संरक्षणको काम सुरु भएको छ । उक्त स्थानबाट रेशको धनीखोरिया जोड्ने झोलुङ्गे पुल निर्माण गरी पर्यटकको आउजाउलाई सहज तुल्याउने वडा कार्यालयको योजना रहेको काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष पे्रेम लामिछानेले बताए । उक्त स्थानको संरक्षण र विकासका लागि प्रदेश र सङ्घ सरकारसँग योजनासमेत माग भइरहेको वडा कार्यालयले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।