म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण भएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको पैदलमार्ग निर्माण भएपछि यात्राअवधि छोटिएपछि यात्रुलाई पनि सहज भएको हो ।
दुई किलोमिटर उकालो र घुमाउरो बाटोबाट रिसिनचौतारी र बैसरी आवतजावत गर्न एक घण्टा लाग्छ । जङ्गलको बीचबाट ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएपछि आधाभन्दा धेरै समय र दूरी घटेको स्थानीयवासी राजन केसीले बताए । उनका अनुसार पदमार्ग निर्माण भएपछि एक घण्टाको यात्राअवधि बीस मिनेटमा छोटिएको छ ।
चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडको सहयोगमा एक हजार ५०० मिटर लामो र दुई दशमलव पाँच मिटर चौडाइ भएको पदमार्ग निर्माण भएको छ । प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत बैसरी–रिसिन चौतारी पदमार्ग निर्माणका लागि रघुगङ्गा हाइड्रोपावरले रु पाँच लाख विनियोजन गरेको थियो ।
आयोजनाको सहयोग पाएपछि स्थानीयवासीले श्रमदान गरेर उकालो र भिरालो ठाउँमा रहेको जङ्गलभित्र ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका हुन् । भगवतीका बासिन्दा बेनी–जोमसोम सडकमा पुग्न, कालीगण्डकीमा शवदाह गर्न मलामी जान यो पदमार्ग प्रयोग गर्छन् । यो पदमार्ग भएर माझखर्क, ओखरेट हुँदै गाउँपालिकाको केन्द्र मौवाफाँट र पर्यटकीयस्थल रुइसे पनि जान सकिन्छ ।
रिसिनचौतारीका बासिन्दा दुर्गाबहादुर केसीले पदमार्ग बनेपछि धेरै सुविधा भएको बताए । शवदाहसंस्कार गर्न कालीगण्डकीको घाटमा जाने मलामीलाई पदमार्गले धेरै सुविधा पुगेको केसीले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





