माओवादी केन्द्रमा २ लाइन संघर्ष

- राम कार्कीको पूरक फरक दस्तावेज प्रस्तुत। केन्द्रीय समितिमा खुला र समावेशी गरी ५०/५० को बराबरी। समावेशीतर्फको क्लस्टर मिलाउन विधान संशोधनका लागि गठित देव गुरुङ नेतृत्वको समितिलाई जिम्मेवारी। आज पनि बन्द सत्र। बन्द सत्रमै अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल र सुझाव पेश। आज दिउँसो १२ बजेसम्म समूहगत छलफलको समय। छलफलबाट आएको निष्कर्षलाई बुधबार १ बजे बन्दसत्रमा समूहगत रूपमै पेस गर्ने कार्यतालिका। सुझाव राख्न प्रत्येक समूहलाई १५ मिनेट समय उपलब्ध गराउने निर्णय


     एभरेस्ट आवाज    
     पौष १४ गते २०७८ मा प्रकाशित




नेकपा (माओवादी केन्द्र)को महाधिवेशन अन्तर्गत बन्द सत्रको हलभित्र स्थायी समिति सदस्य राम कार्कीले मंगलबार पूरक प्रस्तावका रूपमा फरक दस्तावेज पेस गरेका छन्।

उनको दस्तावेजलाई पनि समूहमा वितरण गरिएको छ। यसले पार्टीमा २ लाइन संघर्ष देखिएको छ। २ लाइन संघर्षले पार्टीलाई जीवन्त राख्नेमा कार्कीले जोड दिएका छन्।

महाधिवेशन अन्तर्गत पार्टीको केन्द्रीय समितिमा ५० खुला र ५० प्रतिशत समावेशी छुट्याउने प्रस्ताव गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेका बेला मंगलबार बसेको स्थायी समिति बैठकमा समावेशीको क्लस्टर मिलाउने विषयमा छलफल भएको छ।

बैठकले समावेशीतर्फको क्लस्टर मिलाउन विधान संशोधनका लागि गठित देव गुरुङ नेतृत्वको समितिलाई जिम्मेवारी दिएको छ। निर्वाचन आयोगको व्यवस्थाअनुसार पनि समावेशीलाई व्यवस्थापन गर्नुपर्ने भएकाले थप गृहकार्य गर्न लागिएको हो। यसका लागि बैठक विधान र समावेशी क्लस्टरबारे छलफल गर्न बसेको र निर्वाचन आयोगको ढाँचालाई आधार मान्नुपर्ने हुन्छ।

‘यद्यपी, क्लस्टरको निर्णय आइसकेको छैन। ५०÷५० प्रतिशत गर्ने कुरा आएको छ। तर, महिला ३५, दलित १५, युवा २० र मुस्लिमलाई छुट्याइएको ५ प्रतिशत नघट्ने गरी व्यवस्थापन हुनेछ,’ पार्टीका स्थायी समिति सदस्य हरिबोल गजुरेलले जनाएका छन्।

प्रस्तावमा ५० प्रतिशत प्रतिनिधित्व खुला र ५० प्रतिशत समावेशीतर्फ छुट्याइयो भने समावेशीतर्फको ५० प्रतिशतलाई सय मानेर सबैलाई समावेश गर्नुपर्ने हुन्छ । जसले गर्दा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत घट्ने संभावना देखिएको छ। यसैबीच स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिवेदनमाथि मंगलबार दिनभर विभिन्न २५ वटा समूहले छलफल गरेका छन्। छलफलबाट आएको निष्कर्षलाई बुधबार १ बजे बन्दसत्रमा समूहगत रूपमै पेस गर्ने कार्यतालिका रहेको गजुरेलले बताएका छन् ।

समूहगत छलफललाई मंगलबार दिनभर समय छुट्याइएकोमा बुधबार अपराह्न १२ बजेसम्म थप गरिएको छ । माओवादी नेता नारायण दाहालले अधिकांश समूहबाट वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफलमा समर्थन जनाउँदै सुझाव राखेका छन्।

बैठकमा महाधिवेशन लम्बिन सक्ने भएकाले पुस १७ गतेसम्म सम्पन्न गर्नेबारे पनि छलफल भएको छ। समूहबाट सुझाव आएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र त्यसपछि प्रस्ताव पारित गरिने बताइएको छ। प्रतिवेदन पारितपछि केन्द्रीय कमिटीका लागि नाम प्रस्ताव गर्ने र ती नामबाट पदाधिकारी चयन गर्ने माओवादीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।