हिमपातका कारण मनाङको जनजीवन कष्टकर


     एभरेस्ट आवाज    
     पौष १५ गते २०७८ मा प्रकाशित




मनाङको माथिल्लो भेगमा पुस ११ गतेदेखि हल्का हिमपात सुरु भएपछि जनजीवन कष्टकर बन्दै आएको छ।

त्यहाँको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात भैरहेको छ।हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ।

जिल्ला प्रशासन कार्यालयले चिसो बढेकाले सतर्क रहन आग्रह गरेको छ।

हिमपात पर्न थालेपछि केही स्थानीयवासी जिल्ला बाहिर हिँडेका छन्। मनाङको माथिल्लो भेग थोराङ्ला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गते देखिनै हिमपात सुरु भएपनि तल्लो भेग चामे सदरमुकाम आसपासमा भने १२ गतेबाट हिमपात सुरु भएको हो।

‘अहिले जिल्लाको सदरमुकामलगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको छ। मानिस हिँडडुल गर्न कठिन भएको छ। सवारी आवगमनसमेत ठप्प भएको छ। अझै तीन दिन हिमपात हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ। जिल्लाको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेको छ। पर्यटकलगायत सर्वसाधरणलाई हिमपातको समयमा सतर्क हुन अनुरोध गरिरहेका छौ’, प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भने।

स्थानीयवासीका अनुसार बाक्लो हिमपातले अत्यधिक चिसो बढाएको छ। माथिल्लो मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले छिनछिनको हिमपातका कारण चिसो बढेको बताए।

उनका अनुसार स्थानीय साथै चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटक हिमपातका कारण प्रभावित भएका छन्।

उनले माथिल्लो मनाङमा शुक्रबार साँझदेखि छिनछिनमा हिउँ परिरहेको बताए। चिसोका कारण स्थानीयवासी आगो तापेर घरभित्रै बस्न बाध्य भएका छन्। यसअघि मंसीर तेस्रो साता माथिल्लो मनाङ र नार्पाभूमिमा हिमपात भएकोमा केही दिनयता चामे आसपासका क्षेत्रमा पनि हिमपात हुन थालेको छ।

हिमपातका कारण अत्यधिक चिसो बढेकाले प्रहरीलाई नियमित गस्तीका लागि पठाउनसमेत समस्या भएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए। सशस्त्र प्रहरी प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलले हिमपातका कारण अधिकांश सडक अवरुद्ध भएकाले आवतजावत गर्न असजिलो भइरहेको बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार माथिल्लो क्षेत्र साथै सदरमुकाम चामे आसपासमा निरन्तर बाक्लो हिमपात भइरहेकाले अत्याधिक चिसो बढेको बताए।

उनका अनुसार विदेशी पर्यटकलाई सुरक्षित रहन र मौसममा सुधार नआएसम्म तिलिचो र थोरङ्लालगायत अन्य जोखिम क्षेत्रमा नजान अनुरोध गरिएको छ। गत एक हप्तमा जिल्लामा ३१ विदेशी पर्यटक भित्रिए पनि हाल २० जना जिल्लाभित्र रहेका छन् भने तीमध्ये ११ जनाले थोराङ्लापास गरी मुस्ताङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।