काँग्रेसले विविध कार्यक्रमसहित राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

- काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्। बिपी संग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्ने जनाइएको छ


     एभरेस्ट आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित




आज पुस १६ अर्थात ४६ औं राष्ट्रिय मेलमिलाप दिवस। विभिन्न कार्यक्रम गरी आजको दिन यो दिवस मनाइन्छ।

२०३३ साल पुस १६ गते नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु ८ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइन्छ।

दिवसका अवसरमा आज (शुक्रबार) काँग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्।

यस अवसरमा बिपी संग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ।

८ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते काँग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए।

कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो। २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो।

त्यसपछि २०२५ सालमा वीपीसहितका काँग्रेस नेता भारत प्रवासमा गएका थिए। तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका काँग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।