नेकपा माओवादी केन्द्रले २ सय ३६ केन्द्रीय सदस्यको चयन गरेको छ।
माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्द सत्रले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २ सय ३६ केन्द्रीय सदस्यको चयन गरेको हो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको समानुपातिकतर्फको १२५ र खुलातर्फ १११ जना गरी कूल २ सय ३६ केन्द्रीय सदस्यहरूको नामावली बन्द सत्रबाट पारित गरेको थियो।
विभिन्न क्लस्टर मिलाएर २३६ जनाको नाम आइतबार घोषणा गरिए पनि बाँकी ६३ केन्द्रीय सदस्य चयन गर्न भने बाँकी छ।
महाधिवेशनबाट चयन हुने २९९ केन्द्रीय सदस्यमा थप १५ प्रतिशत सदस्यको केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ।
माओवादी केन्द्रले बन्दसत्र अघिपछि र बन्दसत्र चलिरहेका बेलामा समेत स्थायी कमिटी बैठक बसेर केन्द्रीय सदस्य चयन सहमतिमार्फत चयन गर्न पटक पटक छलफल गरेको थियो।
यसैगरी, आजै माओवादी केन्द्रले ३ वटा आयोगको जिम्मेवारी पुरानै नेतृत्वलाई दिएको छ। माओवादी केन्द्रले अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठलाई चयन गरेको थियो । केन्द्रीय कमिटीमा उपस्थित हुन पाउने यी ३ वटै आयोग २५ सदस्यीय हुनेछ।
माओवादी केन्द्रको विधानअनुसार २९९ सदस्यीय केन्द्रीय कमिटीमा जस अनुसार केन्द्रीय समितिमा ५० प्रतिशत पूर्ण समानुपातिक, ५० प्रतिशत खुल्ला र १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरेको छ।
केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने व्यवस्था छ।
समानुपातिकतर्फ निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा खस आर्यतर्फ ४५, आदिवासी जनजातितर्फ ४३, मधेसीतर्फ २३, दलिततर्फ २२, थारुतर्फ १०, मुस्लिम ७, अपाङ्गता र पिछडिएको क्षेत्रतर्फ बाट २/२ जना रहने र खुलातर्फ १ सय ४५ जना केन्द्रीय सदस्य रहने विधानमा व्यवस्था छ।
महाधिवेशनले केन्द्रीय कमिटी चयन गरेपनि पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी भने केन्द्रीय कमिटीले गर्नेछ।
यस्तै पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने पनि माओवादी केन्द्रले जनाएको छ।
यसैगरी विधानले व्यवस्था गरेको १५ पदाधिकारी चयन भोलि सुरु हुने माओवादी केन्द्र केन्द्रिय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परि एक किशोरको मृत्यु भएको छ…





