कानून निर्माण मात्र होइन कार्यान्वयनमै केन्द्रीत छौं : मन्त्री थापा


     एभरेस्ट आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकार कानून निर्माण गर्न तर्फ मात्रै नभई कार्यान्वयनमा समेत केन्द्रीत रहेको बताएका छन् । मूख्य न्यायाधिवक्ताको कार्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा बुधबार भएको गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानूनहरुको जानकारी सम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री थापाले नेपालको संविधान जारी भएपछि सम्पन्न तीन तहको निर्वाचन पश्चात गठन भएको प्रदेश सरकार तथा प्रदेश सभाले लगभग ४ वर्षको यात्रामा ५० वटा ऐन र ११ वटा नियमावली जारी गरिसकेको र अहिले कार्यान्वयनको पक्षमा रहेको उल्लेख गरे ।

‘प्रदेश सरकारकाले ऐन सहित धेरै संख्यामा निर्देशिका, कार्यविधि, मापदण्ड तथा गठन आदेश जारी गरेको छ’,उनले भने, ‘संघीयताको आभाष दिलाउने गरी अब बनेका कानूनहरुको कार्यान्वयन तर्फ हामी केन्द्रीत छौं ।’

मन्त्री थापाले प्रचलित कानूनको बारेमा हरेक सरोकारवालाहरुले जानकारी राख्न जरुरी रहेको र कानूनको अज्ञानता क्षम्य नहुने बताएका छन् ।

बेलाबेलामा कानून मन्त्रालयले कानून र तिनको प्रावधानको बारेमा जानकारी राख्न तालिम गोष्ठी लगायतका कार्यक्रम समेत गर्ने गरेको भनाई उनको छ ।

‘कानून मन्त्रालयले हालसम्म बनेका सबै ऐन, नियम, कार्यविधि, निर्देशिका आदि प्रदेश राजपत्रमा प्रकाशन गर्ने गरेको छ’, उनले भने, ‘ गण्डकी प्रदेश सरकारले प्रचलित प्रदेश कानूनको पुनरावलोकन समेत गर्ने र प्रदेश तथा स्थानीय तहले बनाएको कानून कार्यान्वयनको सम्बन्धमा अध्ययन समेत गर्ने गरेको छ ।’

मन्त्री थापाले कानूनको जानकारी प्रदान गर्ने कार्य कानून कार्यान्वयनको एक पाटो भएको र यसले कानूनमा रहेका कमीकमजोरी पत्ता लगाई समसामायिक सुधार गर्न सहयोग गर्ने उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।