१५ दिनमा कार्यसम्पादन प्रतिवेदन पेस गर्न शिक्षामन्त्रीको निर्देशन


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७८ मा प्रकाशित




शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखलाई १५÷१५ दिनभित्रको कार्यसम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।

विभागीय प्रमुखहरुलाई मन्त्रालयमै बोलाएर मन्त्री पौडेलले १५÷१५ दिनको कार्यसम्पादनको प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन्।

‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिपोट गर्नुहोस’, मन्त्री पौडेलले भने, ‘अर्को हप्ता काम गरी नतिजा निस्कने गरी काम हुनुप¥यो होइन भने कारण चाहियो।’

मन्त्री पौडेलले ५० औंं वर्षदेखि अड्किएका फाइलका विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशनसमेत दिए।

‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहन्छन्। सेवाग्राहीको पनि आस हुन्छ’, उनले भने, ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस्।’

शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीलाई दिने छात्रवृत्ति नरोक्न पनि मन्त्री पौडेलले निर्देशन दिए।

‘कुनै पनि छात्रवृत्तिको पैसा फिर्ता हुनुभएन,’ मन्त्री पौडेलले भने, ‘छात्रवृत्ति समयमा विद्यार्थीस्तरमा पुग्नुप¥यो फिर्ता हुँदा सन्देश राम्रो जाँदैन।’

मन्त्रालयले बनाएको लक्ष्य पूरा गर्न कर्मचारीमा संकल्प, इच्छाशक्ति र सक्रिया हुनपर्नेमा जोड दिँदै उनले देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय भएको बताए।

‘कमान्ड कन्ट्रोल हुनुपर्छ, त्यसो भएन भने भद्रागोल हुन्छ,’ पौडेलले भने, ‘समस्या छन् भने सचिवमार्फत ल्याउनुहोस्।’

यस्तै शिक्षा, राज्यमन्त्री बोधमाया यादवले विद्यालयमा समयमा नै पाठ्यपुस्तक पु¥याउन अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।