टाईगर कपको दोश्रो संस्करण सोमबारदेखि, तयारी अन्तिम चरणमा


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७८ मा प्रकाशित




पोखरा, पुस २४

पोखराको प्रतिष्ठित टाईगर कप भलिवल प्रतियोगिताको दोश्रो संस्करण सोमबारदेखि पोखरामा हुने भएको छ । टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि पुस २६ गते सोमबारदेखि माघ १ गतेसम्म पोखरा रंगशालामा ‘दोश्रो टाईगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पीयनसीप महिला÷पुरुष भलिवल प्रतियोगिता’ हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक टाईगर ग्रुप पोखराले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको टाइगर ग्रुपले जनाएको छ ।

प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फ ५÷५ टिमको सहभागिता रहने जनाइएको छ । राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताको महिलातर्फ विभागीय टिमहरु न्ेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र सशस्त्र प्रहरीको एपिएफ क्लवसहित न्यू डायमण्ड एकेडेमी र आयोजक संस्था टाइगर ग्रुप अफ पोखराको टिम सहभागि हुने आयोजकले जनाएको छ । त्यस्तै पुरुषतर्फ विभागीय टिमहरु न्ेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी बलको एपिएफ क्लवसहित टिपटप हेल्पलाईन स्पोर्टस क्लव र गण्डकी प्रदेश टिमको सहभागिता रहने प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

प्रतियोगितामा आयोजकको तर्फबाट सहभागि हुने टाइगर ग्रुप अफ नेपालको टिमको नेतृत्व नेपाली राष्ट्रिय भलिवल टिमकी कप्तान अरुणा शाहीले गर्ने भएकी छन् । उक्त टिममा श्रीलंकाको राष्ट्रिय भलिवल टिमका ३ जना सहभागि हुनेछन् । जसमा श्रीलंकाको राष्ट्रिय भलिबलकी कप्तानपनि रहने ज्ञवालीले बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार दिउँसो १ बजे पुरुषतर्फको डिफेण्डिङ च्याम्पीयन गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लव आमनेसामने हुने प्रतियोगिता संयोजक शिव श्रेष्ठले जानकारी दिए । उद्घाटन १ बजे भएपनि राउण्ड रोविन लिग अन्तर्गतका खेलहरु भने विहान ८ बजेबाटै शुरु हुने उनले बताए ।

आयोजकले प्रतियोगिताको बिजेताहरुलाई दिइने राशी प्रथम संस्करणको भन्दा दोब्बर बनाएको छ । प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फको बिजेतालाई ट्रफीसहित ३÷३ लाख, उपबिजेता महिला तथा पुरुष दुबैलाई डेढ÷डेढ लाख, तृतीय हुनेहरुलाई ७५÷७५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने महिला÷पुरुष दुबै टिमलाई २५÷२५ हजार प्रदान गरिने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई १०÷१० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिताका खेलहरु हेर्नका लागि दर्शकले प्रवेश टिकट काट्नुपर्ने भएको छ । प्रतियोगितामा २ सय र ३ सयको प्रवेश टिकटदर कायम गरिएको अध्यक्ष शर्माले जानकारी दिए । प्रतियोगिता हेर्नका लागि पुगेका दर्शकहरुलाई सामाजिक दुरी (भौतिक दुरी) कायम गराईनुका साथै मास्क र सेनिटाइजर अनिवार्य गरिने उनले बताए ।

प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्मा सुश्री मिडिया काठमाडौंलाई दिइएको छ भने हाम्रो खेलकुद डटकमले यसको प्रत्यक्ष प्रशारण गर्ने टाइगर ग्रुप अफ पोखराले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।