पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा पुस्तक प्रदर्शनी


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित




काठमाडौ । नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी शुरु गरेको छ ।

प्रदर्शनीमा साहित्य, समालोचना, बालसाहित्य, कोश, कथा, कविता, इतिहास, लोकसाहित्य, संस्कृति, ललितकला, सङ्गीत र विभिन्न ‘जर्नल’ गरी ४९० प्रकारका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिने छ । नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुई वटा किन्नेलाई २० प्रतिशत सहुलियत दिइएको प्रदर्शनीका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिए ।

प्रदर्शनी १५ दिनसम्म चलाउने तयारी गरिएको छ । पाठकको चाहना बढ्यो भने अवधि थप गर्न सकिने पनि उहाँले सुनाउनुभयो । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान एवं सांस्कृतिक संस्थानबाट प्रकाशन गरिएका पुस्तक एवं पत्रपत्रिकासमेत राखिएको छ । ललितकला प्रज्ञा–प्रतिष्ठानका प्रकाशनमा भने ५० प्रतिशतसम्म सहुलियत दिइएको छ ।

पुस्तक प्रदर्शनी उद्घाटन गर्नुहुँदै कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानका नयाँ प्रकाशनका बारेमा जानकारी दिन पनि १५ दिने कार्यक्रम उपयोगी हुने बताए। पाठकको चासो बढ्यो भने प्रदर्शनीको अवधि थप गरिने उहाँले जानकारी दिए । यस अवसरमा आजैदेखि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कला प्रदर्शनी सुरु गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।