गण्डकी प्रदेश तेक्वान्दो संघमा जगन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित




गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद अवस्था अझै लघु अवस्थामा रहेको उल्लेख गर्दै सरकारको दृष्टिकोण अझै नपुगेको बताएका छन्। गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै प्रदेश प्र्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा जोड दिए।

अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। तदर्थ समितिको रुपमा काम गरिरहेको संघले अधिवेशनबाट कार्यसमिति बनाएको हो। संघको उपाध्यक्षमा विष्णुहरि गौतम र कमल पराजुली रहेका छन्। महासचिवमा रमेश पौडेल, कोषाध्यक्षमा माईकल कर्माचार्य र सचिवमा गंगाबहादुर गुरुङ रहेका छन्।

सदस्यहरुमा कुलबहादुर तामाङ(दोर्जे) ,विकल्प बोगटी, राजु थापा, योगराज अधिकारी, लक्ष्मी पाण्डे, शिवराज वाग्ले, नरेश भट्टराई, सर्फुदिन मियाँ छन्। दुई सदस्य पछि थप गरिने संघले जनाएको छ।

नेपाल तेक्वान्दो संघको सहयोगमा गण्डकी प्रदेश तेक्वान्दो संघले पोखरामै ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आयोजना गर्ने तयारी गरेको छ। पोखरामै कास्की जिल्ला तेक्वान्दो संघले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकिएको छ। माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि विश्व तेक्वान्दो महासंघ९डब्लुटिएफ०ले मान्यता दिईसकेको नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले बताए।

उनले तेक्वान्दो संघले सैलुङमा हाईअल्टिच्युड सेन्टर र लुम्बिनीमा अन्तर्राष्ट्रिय तेक्वान्दो मेडिटेसन सेन्टर निर्माण गर्ने योजना रहेको सुनाए। अन्तर्राष्ट्रिय तेक्वान्दो मेडिटेसन सेन्टर निर्माण गर्न जग्गा प्राप्त भइसकेको समेत उनले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।