दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तामाङलाई


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित




तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तीर्थराज तामाङले जितका छन् । ४२ किमी दूरीको म्याराथन दुई घण्टा ५१ मिनेट २५ सेकेन्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबका तामाङले म्याराथनको उपाधि जितेका हुन् ।

प्रतियोगितामा देवराज महतारा द्वितीय भएका छन् । उनले उक्त दूरी दुई घण्टा ५४ मिनेट २५ सेकेन्डमा पूरा गरेका छन् । प्रतियोगितामा सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा पाँच मिनेट ४६ सेकेन्डमा पार गरेका थिए । सान्त्वना भएका तेह्रथुमका प्रताप खड्काले उक्त दूरी तीन घन्टा १० मिनेट ४५ सेकेन्डमा पार गरेका थिए ।

खुल्लातर्फको म्याराथनमा ४९ धावकको सहभागिता थियो । धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिएको थियो । खुल्लातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुनेलाई रु १० हजार प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिएका थिए ।

महिलातर्फको चार किमी दौडमा सीता रानाभाट प्रथम, यमुना थापा द्वितीय, सुस्मिता रानाभाट तृतीय र विष्णु परियार सान्त्वना भएका छन् । महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।