प्रदेश सरकारले वार्षिक ३ जनालाई ‘गण्डकी रत्न’बाट सम्मान गर्ने, सम्मानितको हैसियत प्रदेश सांसद सरह


     एभरेस्ट आवाज    
     पौष २८ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेश सभा भवन

पोखरा, पुस २८

गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ प्रदान गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको हालै बसेको मन्त्री परिषद बैठकले वार्षिक रुपमा ३ जनालाई ‘गण्डकी रत्न’ले सम्मान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले मन्त्री परिषद बैठकले विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि २०७८ लाई स्वीकृत गरेको जानकारी दिए ।

सरकारले गण्डकी प्रदेश भित्र रहेर शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि, समाजसेवालगायतका क्षेत्रमा अतुलनीय योगदान गरेर प्रदेशको गरिमा बढाउन महत्वपूर्ण भूमिका खेलेका ३ जनालाई वार्षिक रुपमा ‘गण्डकी रत्न’बाट सम्मान गर्ने मन्त्री खड्काले बताए । उनका अनुसार यसका लागि सरकारले कार्यविधि बनाएको छ ।

‘गण्डकी रत्न’ छनौट गर्न प्रदेशका बरिष्ठ मन्त्रीको अध्यक्षतामा सफारिस समिति बनेको छ । समितिको सदस्यहरुमा अर्थमन्त्री, आन्तरिक मामिला मन्त्री, प्रदेशका प्रमुख सचिव सदस्य तथा आन्तरिक मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहने मन्त्री खड्काले जानकारी दिए । उनका अनुसार सिफारिस समितिले सिफारिस गरेपछि त्यसलाई मन्त्री परिषद बैठकले अनुमोदन गर्ने प्रावधान रहेको छ ।

प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मानलाई प्रदेशकै सर्बाधिक सम्मानको रुपमा व्याख्या गरेको छ । सम्मानित व्यक्तिलाई सरकारले प्रदेश सभा सदस्य बराबरको हैसियत दिने मन्त्री खड्काले बताए । ‘गण्डकी रत्न’बाट सम्मानितलाई राज्यले तक्मा र प्रमाणपत्र त दिन्छ नै, यसका साथसाथै सम्मानितलाई सार्वजनिक सभा, समारोहमा प्रदेश सभा सदस्य सरहको मान्यता र सुविधा दिनेछ’–उनले भने । त्यस्तै, सम्मानितलाई प्रदेश अस्पतालमा निःशुल्क उपचार उपलब्ध गराउने, सम्मानित व्यक्ति जीवनको उत्तरार्धमा संरक्षण विहीन भएको खण्डमा निजको संरक्षणको दायित्व सरकारले लिने, सार्वजनिक सेवाको क्षेत्रमा सम्मानितलाई प्राथमिकता दिने, प्रदेश भित्रका विमानस्थलमा अतिविशिष्ट कक्ष प्रयोग गर्न दिनेलगायतका सुविधा दिइने खड्काले बताए ।

सम्मान यसै वर्षबाट शुरु गरिने मन्त्री खड्काले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।