पर्वत कुस्माको पाङ कुनाचौरमा क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण सुरु


     एभरेस्ट आवाज    
     माघ ३ गते २०७८ मा प्रकाशित




पर्वतको कुस्मा नगरपालिका–१ पाङमा क्षेत्रीयस्तरको क्रिकेट मैदानको निर्माण सुरु भएको छ।

पाङ कुनाचौरको १७० रोपनीको चौरमा गण्डकी प्रदेशकै नमूना क्रिकेट रंगशाला निर्माण गर्न थालिएको कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिएका छन्। रंगशाला निर्माणका लागि राष्ट्रिय योजना आयोगको समपूरक अनुदान र कुस्मा नगरपालिकाको साझेदारीमा काम अघि बढाइएको हो।

आयोगले ३ करोड रुपैयाँ बजेट विनियोजन गर्ने भएकोमा चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ र नगरपालिकाको २० लाख रुपैयाँ गरी झण्डै ७० लाख रुपैयाँको लागतमा मैदान सम्याउने तथा कालीगण्डकीको भिरतर्फ पर्खाल लगाउने काम भइरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिएका छन्।

उनका अनुसार मैदानमा पश्चिमतर्फ ३० हजार मानिस अटाउने प्याराफिटसमेत बनाउन थालिएको छ। मैदानका लागि केही जमिन अपुग भएकाले नजिकै रहेको लक्ष्मीनारायण मन्दिर तथा विद्यालय र निजी जमिनसमेत चर्चिनुपर्ने भएको छ। मैदान निर्माण सुरु भएसँगै स्थानीयस्तरमा कुनै विवाद नहोस् भनेर वडा कार्यालयले आयोजना गरेको भेलाले पाङ धैरेनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वस्थानी रिजालको अध्यक्षतामा समन्वय समिति गठन गरिएकोे छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।