पोखरामा अब बस स्टपबाहेक अन्य ठाउँमा बस रोक्न नपाइने


     एभरेस्ट आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित




पोखरामा अब बस रोक्ने ठाउँ (बस स्टप) बाहेक अन्य ठाउँमा बस रोक्न नपाइने भएको छ । गण्डकी प्रदेश सरकारले बस स्टपबाहेक अन्य ठाउँमा बस्न रोक्न नपाइने नियम बनाएको छ । पोखरामा हाल भद्रगोल रुपमा बस रोक्ने गरिएको छ । बस स्टप भन्दा १०÷१५ मिटर वरपरदेखि यात्रुले हात उठाएर संकेत गरेको खण्डमा जहाँसुकैपनि बस रोक्ने गरिएको छ । जसले गर्दा दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक ब्यबस्थापन भद्रगोल हुँदै आएको थियो । तर अब सरकारले बस स्टप बनाईदिने र सो बस स्टपबाहेक अन्य ठाउँमा कडाईका साथ बस रोक्न निषेध गर्ने निर्णय भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले जानकारी दिए । सोमबार बसेको मन्त्री परिषद बैठकले सार्वजनिक यातायातको भाडादर समायोजन गर्दै सार्वजनिक यातायात सम्बन्धी विभिन्न निर्णय अन्तर्गत यस्तो निर्णय गरेको उनले बताए ।

त्यस्तै बसमा अनिवार्य जिपिएस जडान गर्नुपर्ने प्रावधान राखिनुका साथै अब नया बस खरिद गर्दा अटोमेटिक रुपमा ढोका लाग्ने खालको बस राख्नुपर्ने प्रावधान राखिएको छ । ‘ढोका खुल्ला हुँदा झुण्डिएर यात्रा गर्ने, जसका कारण यात्रु दुर्घटनामा परेर घाईते, अपाङ्ग हुनुका साथै मृत्यूसमेत हुने गरेकाले अटोमेटिक ढोका बन्द हुने बस अनिवार्य गर्ने निर्णय भएको छ’–उनले भने । उनले बसमा भाडा तिर्दा कार्ड सिस्टमबाट तिर्ने व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।