सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ।
तपाईंसँग कोरोनाविरुद्ध खोप लगाएको खोप कार्ड छ? कार्ड छ भने तपाईं सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनुहुन्छ। छैन भने, अब कार्ड नभई सार्वजनिक स्थानमा हिँडडुल गर्न पाइनेछैन।
कोरोना संक्रमणको गति फेरि बढ्दै गएपछि सरकारले कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भन्दै सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको हो।
पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य गरिएको हो।
कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। मोबाइलमा भएपनि कार्डको फोटो खिचेर राख्दा हिँडडुल गर्न सहज हुनेछ।
यदि, खोप कार्ड नै हराएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको छ।
मन्त्रालयले सूचना जारी गर्दै हराएको खोप कार्ड ३ तरिकाबाट लिनका लागि अनुरोध गरेको छ। पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिनेछ।
दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन अनुरोध गरेको छ।
तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन आग्रह गरेको छ। सरकारले माघ २ गतेबाट अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज दिइरहेको छ।
खोपकै लागि ५ दिन विद्यालयहरु खुल्दै
विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले बन्द गरिएका विद्यालय १६ माघदेखि २० गतेसम्म खोल्ने निर्णयसमेत गरेको छ। विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि ५ दिन विद्यालयहरु खुल्नेछन्। विद्यार्थीलाई खोप लगाउन सो अवधिमा विद्यालयमा खोप अभियान नै चल्नेछ।
नियमित परीक्षा रोकिने छैन
विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर संचालन हुनेछन्। यसरी परीक्षा संचालन गर्दा कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउनेछन्। त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछन्। राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाईबाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइ सकेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था हुनेछ। विदेशबाट नेपाल भित्रिने नाकामा एन्टिजेन्ट परीक्षण गर्ने र खोप नलाएकालाई खोप लगाउने व्यवस्था हुनेछ। नेपालमा रहेका विदेशी नागरिकलाई पनि खोपको व्यवस्था हुनेछ।
हवाइ टिकट काट्दा पनि खोप कार्ड चाहिन्छ
सरकारले हवाइजहाजमा यात्रा गर्ने यात्रुहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य गरेको छ। कोरोना संक्रमण बढ्दै गएपछि हवाइ यात्रालाई सुरक्षित बनाउन भन्दै सरकारले हवाइजहाजमा यात्रा गर्ने यात्रुहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य गरेको हो। यो व्यवस्था लागू हुँदा अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्नुपर्नेछ। त्यसका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन भइसकेको गृह मन्त्रालयले जनाएको छ।
समाचारमा प्रयोग भएको तस्बीर ग्लोबल नेपाल टिभिबाट लिइएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ । पोखरा २२ कोदीमा आयोजित…





