म्याग्दी । म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष)सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मङ्गलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले आइसीयूसहित आठ शय्या क्षमताको उक्त उपचार कक्षमा सेवा सुरु भएको जानकारी दिए । बालबालिका वार्ड सञ्चालनका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको रु ३८ लाखमा भवन निर्माण गरिएको हो ।
भवन बनाउन रु ५६ लाख बजेट विनियोजन भएको थियो । आइसीयूका सामान खरिद र जडान गर्न रु दुई करोड ६१ लाख खर्च भएको छ । विसं २०७२ मा १५ बाट ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पछिल्ला केही वर्षयता उपकरण र उपचार सेवा थप गर्दै लगेको छ ।
अस्पतालले आकस्मिक, बहिरङ्ग, कोभिड, बालबालिकासहित ६४ शय्या बराबरको सेवा दिइरहेको प्रमुख चिकित्सक डा जितेन्द्र कँडेलले बताए । यसअघि अस्पतालले इन्डोस्कोपी, सघन उपचारकक्ष, डायलाइसिस, शय्यामै पाइपबाट अक्सिजन आपूर्ति गर्ने सुविधासहितको अक्सिजन पलान्ट, आँखा उपचार, दाँत उपचार, आफ्नै फार्मेसी, शल्यक्रियामार्फत गरिने प्रसूति सेवा उपलब्ध गराउँदै आएको थियो । म्याग्दीका साथै पर्वत र बागलुङका नागरिकले पनि बेनी अस्पतालबाट सेवा लिने गरेका छन् ।
निर्माणाधीन ५० शय्या क्षमताको भवनले पूर्णता नपाउँदा र दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौती बनेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







