नेलम्बोद्वारा संक्रामक तथा सरुवा रोग अस्पताललाई चारजना स्वास्थ्यकर्मी सहयोग


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७८ मा प्रकाशित




पोखरा, माघ ५

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले संक्रामक तथा सरुवा रोग अस्पताललाई ४ जना स्वास्थ्यकर्मी उपलब्ध गराएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड–१९ को तेश्रो लहर अन्तर्गत आएको ओमिक्रोन जनस्तरमा फैलिएकाले उनीहरुको उपचारमा सघाउ पुगोस् भन्ने उद्धेश्यले नेलम्बो नेपालले संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथलाई ६ महिनाका लागि ४ जना स्वास्थ्यकर्मी उपलब्ध गराएको हो । नेलम्बो नेपालले उक्त अस्पतालमा कोभिडका विरामीको उपचार सहज गराउने उद्धेश्यले रेडियो ग्राफर १ जना, स्टाफ नर्स १ जना र ल्याव टेक्निसियन २ जना ६ महिनाका लागि उपलब्ध गराएको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए । उनका अनुसार ती ४ जना स्वास्थ्यकर्मीले संक्रामक तथा सरुवा रोग अस्पतालमा काम गर्नेछन् भने नेलम्बो नेपालले उनीहरुलाई तलब भत्ता उपलब्ध गराउनेछ ।

स्वास्थ्यकर्मी उपलब्ध गराउने बारेमा संक्रामक तथा सरुवा रोग अस्पताल र नेलम्बो नेपालबीच सम्झौता भइसकेको छ । सम्झौता पत्रमा अस्पतालका कार्यकारी निर्देशक डा.विकास गौचन र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले हस्ताक्षर गरेका छन् ।

नेलम्बो नेपालले आगामी दिनमा पनि कोभिड–१९ आइसोलेसन वार्डहरु स्थापना गरेका स्वास्थ्य संस्थाहरुलाई पनि स्वास्थ्य सुरक्षाका सामग्रीहरु आवश्यकता र संस्थाको क्षमता अनुसार प्रदान गर्न सकिने जनाएको छ ।

नेलम्बो नेपालले स्वास्थ्यकर्मीसँगै संक्रामक तथा सरुवा रोग अस्पताललाई डिस्पोजिबल मास्क ५०० थान, के.एन ९५ माक्स ५०० थान, सेनिटाइजर २० लिटर, पल्स अक्सिमिटर १० थान, डिस्पोजिबल पन्जा १० प्याकेट, पिपिइ १० थान, स्प्रे बोतल १० थान, व्याट्री १० जोर, कोभिड १९ सचेतना व्यानर २ थानपनि प्रदान गरेको नेलम्बो नेपालका अप्रेसन कोअर्डिनेटर विदित शाहले जानकारी दिए । उनले ७५ हजार १५० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री अस्पताललाई प्रदान गरेको बताए ।

नेलम्बो नेपालले कोभिड–१९ को पहिलो र दोस्रो लहरमापनि स्स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कास्की जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरु, स्थानीय तह, विभिन्न पालिकाका वडाहरु र स्वास्थ्य चौकीहरु, विभिन्न संघ संस्था तथा सरकारी कार्यालयहरुलाई वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।