जिल्लामा माघ महिनाभर सभा, भेला गर्न नपाइने


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा विभिन्न पदमा उमेदवारी दिएकाहरुको प्रचारप्रसार गर्दै कार्यकर्ताहरु

काभ्रे । कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा बुधबार जारी गरिएको आदेशमा गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्ने, भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुनुपर्ने उल्लेख छ ।

त्यस्तै माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङपुल, फुटसल, पटके हाटबजार र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द गर्नुपर्नेछ । विश्वविद्यालय, विद्यालय, टु्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भौतिक उपस्थिति नगरी भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई विधि अपनाई सञ्चालन गर्न समेत आदेशमा भनिएको छ ।

धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइनेछ । शुक्रबारदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य साथमा बोक्नुपर्ने व्यवस्था गरिएको आदेशमा उल्लेख छ ।

त्यस्तै धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी व्रतबन्ध, मृत्यु संस्कारलगायत अत्यावश्यक परम्परागत क्रियाकलाप सञ्चालन गर्दा ५० जना भन्दा बढी नहुने गरी जनस्वास्थ्यको मापदण्डपालना गर्नेगरी मात्र सञ्चालन गर्न प्रशासनले सबैमा आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।