पोखरा, माघ ६
आहा ! रारा गोल्डकपको पहिलो खेलमा आयोजक सहारा क्लवमाथि सशस्त्र प्रहरी बलको एपिएफ क्लवले जीत निकालेको छ । २० औं आहा ! रारा गोल्डकपको उद्घाटन खेलमा एपिएफले आयोजक सहारा क्लवमाथि २–० को सहज जीत निकालेको हो । जीतसँगै एपिएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ भने सहारा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ । एपिएफको जीतमा प्रदीप लामा र आवास लामिछानेले समान १÷१ गोलको योगदान दिए ।
पोखरा रंगशालामा भएको खेलमा एपीएफका आवास लामिछानेले गोलको खाता खोलेका थिए । उनले खेलको १३ औं मिनेटमा गोल गर्दै एपिएफलाई अग्रता दिलाए ।
पहिलो हाफमा १–० ले अग्रता लिएको एपिएफले दोस्रो हाफको सुरुआतमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनायो । दोश्रो हाफको १४ औं मिनेटमा एपिएफका लागि प्रदीप लामाले गोल गरेका हुन् । उनले सनिष श्रेष्ठले उपलब्ध गराएको लामो पासलाई आफ्नो नियन्त्रणमा लिएर सहजै गोलमा परिणत गरे ।
विहीबारको खेलमा पहिलो गोल गर्ने आवास लामिछाने म्यान अफ दी म्याच घोषित भए । उनलाई नगदसहित ट्रफी प्रदान गरिएको थियो ।
विहीबारको बिजेता एपिएफले अब अमेरिकाको बिवाईएससी मिनेसाटोसँग प्रतिष्पर्धा गर्नेछ । सो खेलमा जित हात पार्ने टिम सेमीफाइनल प्रवेश गर्नेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन् ।
प्रतियोगिता दर्शकको उपस्थिति बिना नै शुरु भएको छ । विहीबारको खेलमापनि दर्शक उपस्थित भएनन् । यद्वपी, आयोजक, प्रायोजक, सिजनल टिकेट लिएका, पत्रकार तथा भिआईपी पास लिएकाहरु भने दर्शकका रुपमा सहभागि छन् ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १० लाख र उप–विजेताले ५ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







