सोँदाको बाटो नबन्दा हैरानी खेप्दै कास्कीको पर्यटकीय क्षेत्र सोँदा, सिक्लेश र खिलाङबासी


     एभरेस्ट आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित




पोखरा, माघ ६

बाढीले भत्काएको बाटो पुर्ननिर्माण नगर्दा कास्कीको पर्यटकीय क्षेत्र सिक्लेश, खिलाङ र सोँदाबासी हैरानीमा परेका छन् । मादी गाउँपालिका वडा नम्बर १ को सोँदास्थित मादी नदीमा गत जेठ ३१ गते आएको बाढीले बगाएको बाटो पुनःनिर्माण नहुँदा गण्डकी प्रदेशको राजधानी कास्कीको प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक सिक्लेश, खिलाङ र सोँदाका स्थानियबासी हैरानी खेप्न बाध्य भएका हुन् ।

गत जेठ ३१ गते आएको बाढीले सिक्लेश र खिलाङ जाने बाटो बगाएको थियो । उक्त बाढीले ३ घर पूर्ण रुपमा बगाएको थियो भने अन्य ६ घरमा आंशिक क्षेति पु¥याएको थियो । सोहि पहिरोका कारण उत्पन्न त्रासले स्थानिय १८ घर विस्थापित भएका छन् । त्यतिमात्र होइन बाढीले बाटो नै बगाएपछि सिक्लेश र खिलाङबासी अर्को पर्यटकीय क्षेत्र ताङतिङको बाटो प्रयोग गर्न बाध्य भएका छन् । जसका कारण पहिलेको भन्दा सिक्लेश र खिलाङ पुग्न झण्डै दोब्बर समय खर्चन बाध्य भएको मादी गाउँपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्र मादी गाउँपालिका अध्यक्ष तोरण गुरुङले बताए । ‘पहिले आधा घण्टा, पैंतालिस मिनेटमा पुगिने ठाउँ अहिले एक÷डेढ घण्टा अर्थात दोब्बर समय लाग्ने गर्छ’–उनले भने । बाटो नबन्दा खिलाङ र सिक्लेशको तल्लो क्षेत्रबाट सोँधामा अध्ययन गर्न आउने विद्यार्थीसमेत प्रभावित भएका छन् । उनीहरुलाई विद्यालय आउन÷जान समस्या परेको उनले बताए ।

सोंदामा बिग्रिएको बाटो पहुँच नपुगेर नबनेको होईन । बरु पहुँच हुनेहरुले ध्यान नदिदा नबनेको स्थानिय बताउँछन् । किनकी यो क्षेत्र भिआइपीहरुको क्षेत्र हो । कास्की क्षेत्र नम्बर १ मा पर्ने यो क्षेत्र पूर्व गृहमन्त्री खगराज अधिकारीको क्षेत्र हो । त्यस्तै नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङपनि यहि क्षेत्रका जनप्रतिनिधि हुन् । कास्की १ को (ख)बाट प्रदेश सभामा निर्वाचित उनी यहि बाटो भएर जाने सिक्लेशका स्थायी बासिन्दापनि हुन् ।

पहिरो जानेवित्तिकै भिआइपीहरुको ध्यानाकर्षण नभएको होईन, भएको हो । स्थानियलेपनि उनीहरुलाई ध्यानाकर्षण गराएका हुन् । त्यसबेला उनीहरुले बाटोका लागि बजेट पार्ने आश्वासनपनि दिएकै हुन् । तर समय अन्तरालमा उनीहरुले प्रतिबद्धता भुलेको स्थानिय टिकप्रसाद गुरुङको आरोप छ । उनी भन्छन्,‘हामीले आश्वासन अनुसार व्यवहार पाएनौं, जसका कारण वत्ती मूनिको अँध्यारोजस्तो भएर बस्नु परेको छ ।’ सोंदालाई भिआईपीहरुले बेवास्ता गरेको उनको आरोप छ ।

उनका अनुसार गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बाले उक्त बाटो बनाउने आश्वासन दिएका थिए । उनकै आश्वासन अनुसार बाटोको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)पनि भयो तर बजेट नपर्दा बाटो बनेन ।

अहिलेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललेपनि बाटो बनाउन ५० लाख रुपैयाँ दिने आश्वासन दिए । अवलोकनका क्रममा सोँदा पुगेका उनले बाचा भने पूरा गरेका छैनन् । उसो त प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, सहरी विकास एवम् यातायात व्यवस्था मन्त्री कुमार खड्कालेपनि २० लाख दिने आश्वासन बाँडे । तर उनले दिएको आश्वासनपनि आश्वासनमै सिमित भयो ।

उसो त प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराललेपनि बाटोका लागि आवश्यक सहयोग गर्ने वचन दिए । उनको वचनपनि व्यवहारमा परिणत नहुँदा आफूहरुलाई पीडामाथि पीडा थपेको मादी–७ का वडाध्यक्ष लालबहादुर गुरुङ बताउँछन् । ‘हामीलाई आश्वासन मात्र दिइयो, बजेट दिइएन । आश्वासनले मात्र बाटो बन्दो रहेनछ, त्यसैले हामीलाई बजेट चाहियो । बाटो निर्माण हुनुप¥यो’–उनले भने ।

बाटो निर्माणमा सरकारले मात्र नभई स्थानिय हाइड्रोपावरलेपनि चासो नदिएको स्थानियको गुनासो छ । मादीको सोँदामा हाइड्रो निर्माण गर्दा मादी नदीले धार परिवर्तन गरेका कारण बस्तीसँगै बाटोपनि बगाएको उनीहरुको भनाई छ । तर जुन हाइड्रोका कारण बस्ती र बाटो बग्यो त्यहि हाइड्रोले बाटो निर्माणमा चासो नदिदा आफूहरुको चित्त दुखेको स्थानिय युवा क्लवका अध्यक्षसमेत रहेका टिकप्रसाद गुरुङले बताए ।

सिक्लेश शान्ति प्रक्रियाको प्रस्थान विन्दु पनि हो । जनयुद्धबाट शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सिक्लेशबाटै हेलिकोप्टरमा राखेर सिधै सिंहदरबार पु¥याएका थिए । त्यहि भएर सिक्लेशमा शान्ति स्तम्भसमेत निर्माण गरिएको छ । यस्तो ऐतिहासिक महत्व बोकेको सिक्लेश जाने बाटो बिग्रिएर नबन्दा अन्र्तराष्ट्रिय स्तरमै नराम्रो सन्देश जाने भएकाले तत्काल बाटो निर्माण गर्न स्थानियले आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।