फरार अभियुक्त पक्राउ


     एभरेस्ट आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित




काठमाडौ । अदालतबाट रु १२ लाख जरिवाना ठहर भएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १२ लाख जरिवाना गरेपछि फरार रहेका दोलखा भीमेश्वर नगरपालिका–३ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय जीतेन्द्रबहादुर रिजाललाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७६ पुस ७ गतेको फैसलापछि दुई दिन कैद र बिगोबमोजिम रु १२ लाख जरिवानापछि फरार रहेका रिजाललाई बिहीबार सुन्ताखानबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका उनले आफ्नो नविल र एनआइसी बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाया ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका रिजाललाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।