गण्डकीमा थप ९ सय जनामा कोरोना पुष्टि,कास्कीमा ४८९ जना संक्रमित


     एभरेस्ट आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित




गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप ९०० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७०२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् ।

जसअन्तर्गत कास्कीका ४८९ जना, तनहुँका ६९ जना, गोरखाका ४० जना, लमजुङका ४५ जना र नवलपुरका ६१ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका १२३ जना, पर्वतका १६ जना, बाग्लुङका ३७ जना, म्याग्दीका १९ जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।

आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९२ हजार ८८५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १२१ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ३३६ पुगेको छ। भने, अहिले प्रदेशभर ४११७ सक्रिय संक्रमित छन् । शुक्रबार गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ।

मृत्यु हुनेमा गोर्खा जिल्ला गोरखा नगरपालिका –११ निवासी ४० वर्षीय पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका –१३ निवासी २३ वर्षीया युवती छिन् । योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४३२ पुगेको निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।