पुलिस पुग्यो आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा


     एभरेस्ट आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित




पोखरा, माघ ७

नेपाल पुलिस क्लव आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लवलाई सडेन डेथमा हराउँदै ६ पटकको उपाधि बिजेता पुलिस आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा पुग्ने दोश्रो टिम बनेको हो ।

शुक्रबार भएको प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० मिनेट एक÷एक गोलको बराबरीमा सकिएको थियो । त्यसपछि थपिएको अतिरिक्त ३० मिनेटको समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो । पेनाल्टी शुटआउटमा पनि ४÷४ गोलको बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो ।

सडेन डेथनमा हिमालयन शेर्पा क्लवका पूर्ण गुरुङ गोल गर्न चुकेपछि पुलिसको भाग्य चम्किएको हो । यसअघी पेनाल्टी शुटआउटमा पुलिसका तीर्थ राना मगर, निरकुमार राई, सुमन सुवेदी र भोला शिलवालले गोल गरेका थिए । पुलिसका कपिल ढकाल भने गोल गर्न असफल भए । उनले हानेको प्रहार बार माथिबाट बाहिरिएको थियो ।

त्यस्तै, हिमालयन शेर्पाको तर्फबाट त्रिदेव गुरुङ, आशिष गुरुङ, विश्वास श्रेष्ठ र पिस्तोल मुतुम्बाले गोल गरे । हिमालयन शेर्पाका उल्रिच सिवे गोल गर्न चुके । उनले प्रहार गरेको पेनाल्टी सुट विपक्षी गोलकिपर बाधक बनेका हुन् ।

सडेन डेथमा पुलिसका बुद्ध लामा र राम वाजेले गोल गरे । तर हिमालयन शेर्पाका जीवन गुरुङले गोल गरेपनि पूर्ण गुरुङ गोल गर्न असफल हुँदा हिमालयन शेर्पा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरियो ।

पहिलो हाफ पर्ख र हेरको रणनीति अप्नाएका दुबै टिमले राम्रो मुभसमेत निकाल्न सकेनन् । तर दोश्रो हाफमा केहि आक्रामक रणनीति बनाएको पुलिसले खेलको ५३ औं मिनेटमा अग्रता लियो । तीर्थ राना मगरले मैदानको दायाँ साइडबाट दिएको क्रसलाई निरकुमार राईले जाली चुमाए । विपक्षी गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा उनले बायाँ साइड च्यापेर हानेको प्रहार गोलमा परिणत भएको थियो ।

गोल खाएपछि केहि आक्रामक बनेको हिमालयन शेर्पाले ५९ औं मिनेटमा बराबरी गोल फर्कायो । शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले बराबरी गोल फर्काए । बिपक्षी रक्षात्मक पंक्तिका सन्तोष हेमरनको ढाडमा लागेर फर्केको रिबाउण्ड बललाई अनमार्क रहेका उनले करीब २७ यार्ड टाढाबाट गोलमा परिणत गरे ।

त्यस पछिको बाँकी समय र अतिरिक्त समयमा दुबै टिमले गोल गर्ने सुन्दर अवसरहरु खेर फाले । तुलनात्मक रुपमा पुलिस भन्दा बढी आक्रामक रणनीति बनाएको हिमालयन शेर्पाको फिनिसिङ कमजोर हुँदा गोल निस्किएन । उनीहरुको बारम्बारको प्रयासमा पुलिसको रक्षात्मक टीम बाधक बन्यो । उसो त पुलिसलेपनि बनाएका सुन्दर अवसरलाई सदूपयोग गर्न सकेन ।

शुक्रबारको खेलमा पुलिसका रोसन खड्का म्यान अफ दी म्याच घोषित भए । उनले नगदसहित ट्रफी प्राप्त गरे ।

बिजयी टिमका प्रशिक्षक अनन्त राईले बिपक्षीलाई रोक्नका लागि केहि रक्षात्मक खेल्दा निर्धारित समयमा गोल ननिस्केको बताए । ‘हामीलाई जसरीपनि जित्नु थियो, त्यसमा हामी सफल भयौं । यसमा म खुशी छु’–उनले भने ।

पराजित हिमालयन शेर्पा क्लवका मित्रबहादुर बस्नेतले राम्रो खेल्दाखेल्दै हार्नुपरेको बताए । ‘आज ब्याडलक थियो भन्नुपर्छ, राम्रो खेल्दाखेल्दै हा¥यौं’–उनले भने ।

शुक्रबारको बिजेता नेपाल पुलिस क्लवले अब माघ ९ गते आईतबार मनाङमस्र्याङ्दीसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

प्रतियोगिता अन्तर्गत शनिबार सशस्त्र प्रहरीको एपिएफ क्लव र अमेरिकाको बिवाईएससी मिनेसोटाबीच हुने आयोजक सहारा क्लव पोखराले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।