कोरोना भाइरस (कोभिड–१९) को चौतर्फी संक्रमण बढेसँगै सुरक्षाकर्मीमा संक्रमित हुनेको संख्या बढ्दै गएको छ।
कोरोना संक्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये १ हजार ७ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनको काममा सुरक्षाकर्मीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिँदै आएका छन्।
४ वटा सुरक्षा निकायमध्ये पहिलो पंक्तिमा खटिने नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मीमा सबैभन्दा बढी ९ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये ६० जनालाई विभिन्न अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। तर, उनीहरूमा जटिल स्वास्थ्य समस्या भने नदेखिएको प्रहरीले जनाएको छ।
नेपाली सेनामा कार्यरतमध्ये ४ सय १० जनामा संक्रमण देखिएको छ। जसमध्ये ४० जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य संक्रमितलाई आइसोलेसनमा राखिएको छ। संक्रमितमध्ये ८ जनालाई ‘हाई डिपेन्डेन्सी युनिट’ (आइसीयू)मा राखेर उपचार भइरहेको सेनाले जनाएको छ। सेना मातहतका सुरक्षाकर्मीलाई सरकारको निर्देशन र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पूर्वसतर्कता र उपचार पद्धति अपनाएको सेनाले जनाएको छ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितलाई विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा राखेर उपचार भइरहेको जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या भने नदेखिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभागले संक्रमितहरूलाई चिकित्सकको निगरानीमा उपचार भइरहेको राष्ट्रिय अनुसन्धान विभागले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







