तनहुँ । छाडा चौपायालाई व्यवस्थित गर्न थालेपछि जिल्लमा फाटफुट मात्रामा गिद्ध देखा पर्न थालेका थिए । छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने, सडक, बस्ती फोहर गर्न थालेपछि व्यास नगरपालिकाको सक्रियतामा व्यास–१० शिशुवा भतेरीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले गौ संरक्षण केन्द्र आसपासबाट भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर धमाधम मर्न थालेका छन् । शिशुवा–भतेरीमा छाडा चौपाया सङ्कलन गरी गौ संरक्षण केन्द्र स्थापना गरेसँगै मरेका पशु खान दिनमा विभिन्न किसिमका सयौँ गिद्ध आउने गरेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।
हालसम्म करिब ६०–७० गिद्ध करेन्ट लागेर मरिसकेको बताइएको छ । धेरै गिद्ध करेन्ट लागेर मर्न थालेपछि प्राधिकरणलाई यस क्षेत्रको नाङ्गो तार व्यवस्थित गर्न र पोलिथिन पाइपले कभरिङ गर्नका लागि आग्रह गरिएको उनले जानकारी दिए । प्राधिकरणले राम्रोसँग विद्युत् पोलको अर्थिङ नमिलाउँदा अर्थिङमा परेर केही समयअघि एक स्थानीय बालकसमेत घाइते भएको स्थानीयवासी रामप्रसाद सापकोटाले बताए ।
केन्द्रमा हाल १०० को हाराहारीमा छाडा छोडिएका पशुचौपाया छन् । स्थानीयदेखि उन्नत जातसम्मका गाई संरक्षण केन्द्रमा छन् । मानिसले गाईले दूध दिँदासम्म पाल्ने र यसपछि छाडिदिने प्रवृत्ति बढेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरी संरक्षण गर्दै आएको हो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







