कुश्मा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगन


     एभरेस्ट आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित




पर्वतको कुश्मा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ।

कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार आज (सोमबार)देखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरेको हो। कुश्मा नगरपालिका संकट व्यवस्थापन केन्द्रको बैठकबाट यस्ते निर्णय गरेको हो। माघको १६ गतेपछि संक्रमणको अवस्था हेरेर सोही निर्णय हुने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले वडा तथा नगरपालिकाको कार्यालयबाट लिनुपर्ने अत्यावश्यक बाहेकका सेवाहरू बाहेक अन्य सेवाका लागि नआउन र स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्डहरू पूर्ण रूपमा कार्यान्वयन गर्न समेत नगारपालिकाले अनुरोध गरेको छ।

अस्पतालमा पनि आकस्मिक बाहेकका सेवा स्थगन

पर्वत अस्पतालमा कार्यरत अधिकांश चिकित्सक, नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मी संक्रमित भएपछि सो अस्पतालले समेत आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेको छ। कोरोना परीक्षणका लागि अस्पताल पुगेकामध्ये ७२ प्रतिशतमा संक्रमण पुष्टि भएपछि आइतबारदेखि माघ १४ गतेसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको हो। अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नै संक्रमित भएपछि सेवा दिने जनशक्ति नभएको र अस्पताललाई निसंक्रमित गर्नुपर्ने भएका कारण सेवा स्थगन गरेको अस्पतालले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।