सेवा लिन खोप कार्ड अनिवार्य गरेसँगै खोप लगाउने बढे


     एभरेस्ट आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित




स्याङ्जा । स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा दुई दिन खोप अभियान सञ्चालन गरिएकामा अहिले तीनवटा स्वास्थ्य संस्थामा नियमित खोप अभियान जारी राखिएको स्वास्थ्य कार्यालयकी प्रमुख बसुन्धरा शर्माले जानकारी दिए ।

अहिले जिल्लावासीलाई पायक पर्ने गरी गल्याङ नगर अस्पताल, गह«ौं प्राथमिक अस्पताल वालिङ र शहरी स्वास्थ्य क्लीनिक पुतली बजार– १ मा नियमित खोप लगाउने ब्यवस्था गरिएको उनले बताए । सेवाग्राहीलाई खोप कार्ड अनिवार्यसम्बन्धी सूचना पाए लगत्तै पहिला नलगाएका मानिस पनि खोप लगाउन स्वास्थ्य संस्थाहरुमा आउनेक्रम तुलनात्मकरुपमा बढेको प्रमुख शर्माको भनाइ थियो ।

खोप लगाउन डराउने, लगाएर के हुन्छ र रु भन्नेहरु अहिले सेवा नै नपाइने हो की भन्ने चिन्ताले पहिलो मात्रा खोप लगाउन अस्पताल आउने गरेका वालिङ नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख कमलप्रसाद पाण्डेले बताए। गह«ौं प्राथमिक अस्पतालमा अहिले १२ वर्षदेखि माथिका सबैलाई बिदाको दिनबाहेक हरेक दिन पहिलो र दोस्रो मात्रा खोप नियमित लगाईदिने गरिएको उनले जानकारी दिए ।

उता गल्याङ नगर अस्पतालमा पनि अहिले दैनिक १०० भन्दा बढी मानिस खोप लगाउन आउने गरेका अस्पताल प्रशासक थानापति न्यौपानेले बताए । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणदर जिल्लामा बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले सेवा प्रदायक निकायमा सेवा लिन आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गर्न निर्देशन दिएको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।