संकटालाई ४–१ गोल अन्तरले पराजित गरि मछिन्द्र सेमिफाइनल प्रवेश


     एभरेस्ट आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित




कास्की । पोखराको रंगशालामा जारी २० औ आहा रारा गोल्ड कप फुटवल प्रतियोगितामा सोमबार भएको खेलमा साविक विजेता संकटा क्लबमाथि सानदार जित निकाल्दै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा संकटालाई ४–१ ले पराजित गर्दै मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो । मछिन्द्रको जितमा मेसुके ओलुमोउले दुई तथा उत्सव राई र अभिषेक गुरुङले समान एक गोल गरे ।

संकटाका गणेश हमालले एक गोल फर्काए । खेलको सातौं मिनेटमा ग्लोरीको प्रहारलाई ओमोलाजा नुरेन करिमले गोललाईनबाट क्लियर गर्दै बचाउँदा संकटा अग्रता लिनबाट चुकेको थियो । यान्निक ओआनाको पासमा रोशन पहरीको प्रहारलाई गोलरक्षक सुर्य अधिकारीले नियन्त्रणमा लिन नसकेको बललाई ग्लोरीको पहिलो प्रहारमा सुर्यले नै बचाउँदा दोस्रो प्रहारलाई ओमोलाजाले बचाउन सफल भएका थिए ।

१३औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए । अभियान प्रधानले जय गुरुङबाट खोसेको बललाई उत्सवले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाट गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो । २७औं मिनेटमा रेजिन सुब्बाको प्रहारलाई गोलरक्षक राजा बाबु थापाले पञ्च गर्दै बचाए ।

२९औं मिनेटमा फोडे फोफानाको पेनाल्टी बक्सबाहिरको प्रहार पहिलो बारबाट थोरै बाहिरिदा संकटा बराबरीबाट चुक्यो । ३१औं मिनेटमा अभिषेक रिजालले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा मछिन्द्र अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा निरज बस्नेतको हेडर सदुपयोग हुन सकेन ।

४७औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । नाथानिल जुडे गार्सियाको पासलाई अफसाइड पोजिसनबाट नियन्त्रणमा लिदै अभिषेक रिजालले उपलब्ध गराएको पासलाई मेसुकेले सहजै गोल गर्न सफल भएका थिए । उनी आहा राराकै लागि एनआरटीबाट मछिन्द्र पुगेका थिए । ५७औं मिनेटमा मेसुकेको क्रसमा रेजिन सुब्बाको फ्लिकलाई डिफेन्डर निरज बस्नेतले क्लियर गरिदिए ।

६३औं मिनेटमा सब्सिच्युट गणेश हमालले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । अमित तामाङको कर्नरमा निरज बस्नेतको हेडलाई गणेशले पनि हेडमार्फत नै गोल गर्न सफल भएका हुन् । उनी दोस्रो हाफको शुरुमै जय गुरुङको स्थानमा मैदान छिरेका थिए । ७४औं मिनेटमा गणेश हमालले सुवर्ण अवसर गुमाउँदा संकटा पनि बराबरीबाट चुक्यो ।

८४औं मिनेटमा सब्सिच्युट फरवार्ड अभिषेक गुरुङले गोल गर्दै मछिन्द्रलाई ३–० ले अघि बढाए । अमित तामाङले रेजिन धिमाललाई लडाएपछि प्राप्त फ्रिकिकमा ओमोलाजा नुरेन करिमको फ्रिकिकलाई गोलरक्षक राजाबाबुले बचाएपनि रिवाउन्डमा अभिषेकले गोल गर्न सफल भए । ८६औं मिनेटमा मेसुके ओलुमोउल व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै मछिन्द्रको जित पक्का गरे ।

नाथानिल जुडे गार्सियाको पासमा उनले दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । अब मछिन्द्रले फाइनल प्रवेशका निम्ति बुधबार एपिएफसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।

यसअघि शनिबार पहिलो क्वाटरफाइनलमा एपिएफले अमेरिकी टोली भुटनीज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) लाई ३-१ ले पराजित गरेको थियो । आइतबार मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका छन् । आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।