कास्की । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ ।सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् ।
केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन् । स्थानीय सरकारले पनि अत्यावश्यकबाहेकका जनसम्पर्क सम्बन्धित सेवा स्थगन गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात व्यवस्था कार्यालयलगायत दैनिक सेवाग्राहीको भीड बढी हुने कार्यालयको सेवा रोकिएको ती कार्यालयहरूले जनाएका छन् ।
प्रशासनले सङ्क्रमण रोकथामका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरे पनि सार्वजनिक सेवा प्रदायक कार्यालयमा सो आदेशको पालना भएको देखिएको छैन । जसबाट सङ्क्रमण बढेको बताइन्छ । जिल्ला प्रशासन कार्यालय कास्कीको सेवा आज माघ ११ गतेदेखि अनिश्चितकालका लागि स्थगन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन र अत्यावश्यक सेवाबाहेकका अन्य सबै नियमित सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको छ । यसैगरी मालपोत कार्यालयको सेवा पनि आजदेखि माघ १७ गतेसम्मका लागि स्थगन गरिएको छ ।
कार्यालयका अनुसार नियमित कार्यसम्पादनको क्रममा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारी कोरोना सङ्क्रमित भएको र थप केहीमा लक्षण देखिएकाले कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको छ । नापी कार्यालयको सबै सेवा पनि आजदेखि आगामी माघ १७ गतेसम्म बन्द गरिएको छ ।
कार्यालयका सूचना अधिकारी प्रदीपकुमार श्रेष्ठले कार्यालयका कर्मचारी सङ्क्रमित भएको तथा मालपोत कार्यालयको सेवा पनि स्थगन भएको अवस्थामा दुवै कार्यालयबाट प्रदान गरिने सेवा अन्तरसम्बन्धित भएकाले नापीको सेवा बन्द गरिएको जानकारी दिए । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कार्यालयको सेवा पनि प्रभावित भएको छ ।
कार्यालयका तीन कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्यमा लक्षण देखिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म सीमित सेवाबाहेक अन्य बन्द गरिएको बताइन्छ । यातायात कार्यालय सबैभन्दा बढी सेवाग्राहीको भीड हुने कार्यालयमा पर्दछ । कार्यालयले सवारी चालक अनुमतिपत्रको नवीकरण माघ १३ गतेदेखि सुरु हुने तथा प्रयोगात्मक परीक्षा ९ट्रायल० उत्तीर्णहरूको राजस्व लिनेबाहेकका अन्य सेवा बन्द गरिएको जनाएको छ । कास्कीका स्थानीय सरकारले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् ।
माछापुच्छ«े र मादी गाउँपालिकाले सूचना जारी गरी एक साताका लागि सेवा बन्द गरिएको जनाएको छ । कास्कीमा कोरोनाको तेस्रो लहर सुरु भएसँगै दैनिक सङ्क्रमण बढिरहेको छ । पछिल्लो समय महामारीविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ ।
कास्कीमा पछिल्लो २४ घण्टामा महिला २१६ र पुरुष २४० गरी ४५६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र १८६ जना निको भएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रतिनिधिसभाको जारी बैठकमा विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् । झण्डै…





