गण्डकी । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सञ्चालन गरेको डढेलो र वन्यजन्तु आक्रमण बीमा पीडित परिवारका लागि सहारा बनेको छ । वनमा लाग्ने डढेलो नियन्त्रण तथा वन्यजन्तुको आक्रमणका कारण ज्यान गुमाएका परिवार र घाइते व्यक्तिले महासङ्घले गरेको बीमामार्पmत प्राप्त रकमबाट उपभोक्ताले केही हदसम्म भए पनि राहतको महसुस गरेका हुन् ।
मुलुकमा बर्सेनि हिउँदका समयमा सामुदायिक वनमा लाग्ने डढेलो एवम् वन्यजन्तु आक्रमणबाट जनधनको क्षति हुने गरेको हुँदा महासङ्घले दुःखमा परेका उपभोक्ताको राहतका लागि २०७५ सालदेखि बीमाको व्यवस्था गर्दै आएको छ । पीडित परिवारलाई रु एक लाख र घाइतेको उपचारका लागि १० हजारको बीमा गरिएको महासङ्घका केन्द्रीय सचिव ठाकुर भण्डारीले जानकारी दिए।
उनका अनुसार नेपाल सरकारबाट वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने प्रतिव्यक्तिको परिवारलाई रु १० लाख राहत उपलब्ध गराउँदै आएको छ । सरकार र महासङ्घद्वारा गरिएको बीमाको दोहोरो नपर्ने गरी पीडितले सुविधा पाउने व्यवस्था गरिएको छ । मुलुकभरिका सामुदायिक वन समूहका उपभोक्ताको ५० जनाको मृत्यु तथा १०० जनासम्मको घाइते उपचारका लागि महासङ्घले वार्षिक रु चार लाख बराबरको प्रमु बीमा कम्पनीसँग सम्झौता गरेको उनको भनाइ छ ।
आगलागी र वन्यजन्तुबाट बर्दिया बाजुरा, सुर्खेत, पाल्पा, डोटी, गोरखा, मोरङ, अछाम, रुकुम पश्चिम, खोटाङ, बाँके, खर्घाखाँची लगायतका विभिन्न जिल्लाका १३ जनाको मृत्यु भएको र नौजना घाइते भएका व्यक्ति तथा परिवारले बीमाबापतको सुविधा प्राप्त गरेका थिए । जसमा आगलागीमा परी सातजनाको मृत्यु र आठजना घाइते भएका थिए भने वन्यजन्तुको आक्रमणबाट पाँचजनाको मृत्यु र एकजना घाइतेले सुविधा लिएका थिए ।
बीमा रकम हस्तान्तरण
महासङ्घले गोरखा जिल्लामा डढेलोमा परी ज्यान गुमाएका एक वृद्धाको परिवारलाई बीमाबापतको रकम प्रदान गरेको छ । आरुघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वन समूहमा लागेको डढेलोमा परी ज्यान गुमाएका मोहनबहादुर फेवाली मगरकी धर्मपत्नी पार्वतीदेवी फेवालीलाई बीमाबापतको रु एक लाख राहत रकम उपलब्ध गराएको हो ।
भीषण डढेलोबाट जङ्गलको बीच भागमा रहेको भैँसीगोठ र परालको टौवा बचाउन खोज्दा ६१ वर्षीय फेवालीको आगोले जलेर गत वैशाख ७ गते राति घटनास्थलमै मृत्यु भएको थियो । महासङ्घका केन्द्रीय सदस्य नरबहादुर गुरुङ, गोरखाका अध्यक्ष कमलप्रसाद लामिछाने, खारुघाट गाउँपालिका–७ का वडाध्यक्ष रणबहादुर बराम, स्थानीय महासङ्घका अध्यक्ष कृष्ण काप्री लगायतले उक्त रकम बराबरको चेक पीडित पार्वतीदेवी फवालीलाई सामूहिक रुपमा हस्तान्तरण गर्नुभएको महासङ्घका कोषाध्यक्ष पार्वती पाठकले जानकारी दिए ।
यसअघि डढेलो नियन्त्रण गर्ने क्रममा मृत्यु भएका गोरखाकै शहीद लखन गाउँपालिका घलेडाँडा रानाखोला सामुदायिक वन समूहका उपभोक्ता पहलमान श्रेष्ठको परिवारलाई पनि बीमाबापतको रु एक लाख हस्तान्तरण गरिएको उनको भनाइ छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





