लगातारको हिमपातले हुम्लामा अत्यधिक चिसो


     एभरेस्ट आवाज    
     माघ १४ गते २०७८ मा प्रकाशित




हुम्ला । हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ । एक स्थानीय गोरे सुनारका अनुसार चिसोले गर्दा त्यहाँका नागरिकमा रुघाखोकी लाग्ने, ज्वरो आउने र कपाल दुख्ने समस्या देखिएको छ ।

त्यहाँको उत्तरी भेग नाम्खा गाउँपालिकामा आवतजावत समेत बन्द भएको छ । लिमीको जाङ्ग, हल्जी, तिल गरी तीन गाउँमा एकबाट अर्कोमा जान नसकिएको स्थानीयले बताएका छन् । ती गाउँहरु सञ्चार सेवाबाट पनि बञ्चित भएका छन् भने हिउँ थुप्रिएपछि बाटो पुरिएको र आवतजावत नै बन्द भएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले हुम्ला जिल्लामा अत्यधिक मात्रामा हिमपात भएकाले खोप लगाउन सिमकोट गाउँपालिकाका वडाहरुमा नै स्वास्थ्यकर्मी खटाइएको बताए । नेपाल विद्युत् प्राधिकरण हिल्दुङ्ग वितरण केन्द्रले हिमपातका कारण विद्युत्भार कटौती गर्न बाध्य भएको बताएको छ ।

सिमकोट गाउँपालिका–८ याङ्गुका हस्तेवीर शाहीका अनुसार ६० घरधुरीमध्ये १५ घरधुरीमा बत्ती बालेको र ४५ घरधुरी विद्युत् सेवाबाट बञ्चित हुन पुगेकाले पटकपटक विद्युत् कार्यालय धाउनुपरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।