कास्कीमा माघ मसान्तसम्म शैक्षिक संस्था सञ्चालन गर्न नपाइने


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७८ मा प्रकाशित




पोखरा । कास्कीमा आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शुक्रबार जारी गरेको आदेशमा जिल्लामा कोरोना सङ्क्रमणदर ५० प्रतिशतभन्दा माथि रहेको उल्लेख गर्दै विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्था भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भनिएको छ ।


त्यस्तै सिनेमा हल, डान्स बार, दोहोरीलगायत मानिस भीडभाड हुने सबै कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ । सबै प्रकारका आमसभा, जुलुसमा पनि प्रशासनले रोक लगाएको छ ।


कास्कीमा मात्रै २२७ सङ्क्रमित थपिए

यस्तै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना सङ्क्रमित कास्कीमा थपिएका छन् । प्रदेशअन्तर्गत विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पिसीआर परीक्षणमा कास्कीमा २२७ सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा प्रदेशमा कूल ५१६ सङ्क्रमित थपिएकामा तनहुँमा ७१, म्याग्दीमा ४९, स्याङ्जा र बागलुङमा ३९–३९, नवलपरासी पूर्वमा ३८, लम्जुङमा २५, पर्वतमा १५ र गोरखामा १३ जना छन् ।

यस अवधिमा प्रदेशमा ७०२ जना निको भएका छन् भने होमआइसोलेशनमा छ हजार ९८५ जना रहेको निर्देशनालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।