कालोपत्र सडक ‘भाइरल’


     एभरेस्ट आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित




दमौली। ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्र सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ । सडकको बीच भागमा रहेको रुखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ । सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ ।

सडककै कारण यति बेला तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयवासी समेत रहेका व्यास–११ का वडाध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिए । “शनिबार मात्र तनहुँसुरमा दुई हजार भन्दा बढी पर्यटकको आगमन रह्यो, केही समयदेखि ओझेलमा परेको तनहुँसुर विस्तारै चर्चामा आउन थाल्यो”, उनले भने । तनहुँसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग सङ्घीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको छ । उक्त मोटरमार्गको ५.६ किलोमिटर खण्डमा कालोपत्र, पक्की नाला, ग्याविन जाली र वाल निर्माण कार्य पूरा भएको हो।

अब ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ । हाल व्यास नगरपालिका–११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्र भएको छ । कूल रु. १० करोडको इष्टमेट भए पनि बोलपत्र प्रक्रियामार्फत ऋषि शक्ति जेभीले रु. सात करोड ५१ लाखमा कालोपत्र र पक्की नाला निर्माण गरेको हो । उक्त योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो । कालोपत्र सडकमार्फत अब तनहुँसुर दरबार दमौलीबाट आधा घण्टामा पुग्न सकिन्छ । उक्त सडकको योजना छनोटका लागि तनहुँ क्षेत्र नं १ का तत्कालीन एमाले सांसद तथा वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सहयोग रहेको छ ।

आँबुखैरेनीमा इजलास कक्ष सञ्चालन

आँबुखैरेनी गाउँपालिकाले न्यायिक इजलास कक्ष सञ्चालनमा ल्याएको छ । न्यायिक समितिको कार्यसम्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले सो कक्ष सञ्चालनमा ल्याएको हो । प्रभावकारी न्याय निरुपणका लागि इजलास कक्ष स्थापना गरिएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी दिइन् । गाउँपालिकाको पुरानो भवनमा इजलास कक्ष बनाइएको छ ।

गाउँपालिकाका कार्यालय नयाँ भवनमा स्थानान्तरण भएपछि त्यस ठाउँमा इजलास कक्ष बनाइएको उनले बताइन् । इजलास कक्ष नहुँदा यस अगाडि उपाध्यक्षकै कार्यकक्षमा इजलास कक्ष थियो । “कोठाका अभावमा उपाध्यक्षकै कार्यकक्षमा जसोतसो इजलास कक्ष सञ्चालन भइरहेको थियो, यसले सेवा प्रवाहमा कठिनाई हुँदै आएको थियो,” उनले भने, “छुट्टै इजलास कक्ष बनाएपछि न्याय निरुपणमा सहजता आउने विश्वास लिएका छौँ ।

न्यायिक समितिले प्रत्येक हप्ताको शुक्रबार न्यायिक समितिको बैठक सञ्चालन गर्ने गरेको छ । उक्त बैठकमा समितिमा परेका विवादको निरुपण गर्ने गरिएको छ । समितिमा विशेष गरी जग्गा विवाद, झैझगडा, श्रीमान् श्रीमतीबीचको हिंसाका घटनासम्बन्धी मुद्दा दर्ता हुने गरेको छ । स्थानीय शासन ऐन २०७४ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । उक्त समितिमा चार सदस्य र एक परामर्शदाता रहेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।