अबको साझा लक्ष्य आर्थिक समृद्धि : मुख्यमन्त्री पोखरेल


     एभरेस्ट आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गरेका हुन् ।

लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको सन्देशमा भनिएको छ ।

सहिदको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको सबैभन्दा ठूलो र महत्वपूर्ण जिम्मेवारी रहेको उनको भनाइ छ । देशमा स्वच्छ राजनीतिक संस्कारको विकास तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढ्नु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्दै सन्देशमा सहिदको त्याग र बलिदानको कदरका लागि प्रदेश सरकार सदा प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।