फाइल तस्विर : प्रधानमन्त्री शेरबहादुर देउवा
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताएका हुन् ।
सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखे । सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पार्दै सच्चा सहिदको अभिलेख तयार गर्न सम्बन्धीत निकायलाई निर्देशन दिए।
सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सहिदको योगदानले नै देशमा प्रजातन्त्र स्थापन सम्भव भएको धारणा राखे । महामारीका कारण सो कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्य सचिव शङ्करदास बैरागीलगायत अन्य केही सीमित उच्चपदस्थ अधिकारी मात्र उपस्थित रहेको थियो । कोरोना महामारीका कारण यस वर्ष प्रभातफेरी कार्यक्रम गरिएन ।
लैनचौरको सहिद स्मारकमा सङ्क्षिप्त स्मृति कार्यक्रम गरेर सहिद सप्ताहको समापन गरियो । सहिद सप्ताहको पहिलो दिन यही माघ १० गते सीमित व्यक्तिको सहभागितामा शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन् ।
सहिद सप्ताहका अन्य कार्यक्रम यही माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको सालिकमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा सीमित पदाधिकारी उपस्थित भएर सालिकमा पुष्पगुच्छा अर्पण गरी मनाइयो । कामपाले हरेक वर्ष माघ १० देखि १६ सम्मलाई विभिन्न कार्यक्रम गरी सहिद सप्ताह कार्यक्रम मनाउँदै आएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





