पोखरा, माघ १६
पोखरा तेर्सापट्टीमा एउटा नेवारी टिपिकल घर छ । जसलाई परम्परागत रुपमा सजाइएको छ । घरको बाहिरी आवरण हेरेर नै जो कसैले त्यो नेवारी घर हो भनेर ठम्याउन सक्छ । घरको आवरण मात्र होईन, त्यसको बाहिर र भित्रको डिजाइनपनि नेवारी परम्परा अनुसार नै डिजाइन गरिएको छ । घरका भित्ताभरी नेवारी संस्कार र संस्कृति झल्किने परम्परागत तस्बिरहरु टाँगिएका छन् ।

यहाँ पुग्दा जोकसैलाई नेवार गाउँको कुनै नेवार घरमा पुगेको झल्को लाग्छ । जसले संस्कार र संस्कृतिको अनुभूति त दिलाउँछ नै । त्यहाँ राखिएका नेवारी परम्परागत डिजाईन र संस्कार र संस्कृति अनुसारको तस्बिरहरुले घरलाई जीवन्त बनाएको छ । जसले त्यहाँ पुगेका हरेक व्यक्तिलाई आनन्द र रिल्याक्स महशुष गराउँछ । यहाँको घर मात्र होईन, वातावरण र स्वादपनि नेवारी छ ।

पोखरामा बिरलै पाइने यो घर पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा रहेको ज्वःजलपा नेवारी किचन हो । जुन पोखरा–३ को वडा कार्यालय भन्दा करीब दुई सय मिटर पश्चिम श्रीकृष्ण हल नजिकै छ । यसमा डिमर्चा ब्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठ र कीर्तिपुर मत्स्य गाउँका जितेन्द्र देसारको लगानी रहेको छ । करीब ३० लाखको लगानी रहेको यो ज्वःजलपा नेवारी किचन लकडाउनकै प्रोडक्ट हो । कोरोनाका कारण २०७६ साल चैतमा गरिएको लकडाउन अघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आएपनि यसको औपचारिक उद्घाटन भने भएको छैन ।
ज्वःजलपा नेवारी किचनले संस्कार र संस्कृतिको अनुभूति दिलाउँदै नेवारी स्वाद पस्किने गरेको छ । जहाँ नेपालकै उत्कृष्ट मानिने कीर्तिपुरको स्वाद लिन पाइने सञ्चालक मध्येका एक जितेन्द्र देसारले बताए । ‘हामी संस्कार र संस्कृति जीवन्त राख्न चाहन्छौं, त्यसैले नेवारी संस्कार र संस्कृति झल्किनेगरी घरको डिजाइन र डेकोरेसन गरेका छौं, हामी नेवारी स्वाद पस्केर आम पोखरेलीको मन जित्न चाहन्छौं’–उनले भने ।

उनका अनुसार ज्वःजलपा नेवारी किचनमा सपुम्हिचा, बफ, चिकेन र मटनको छोइलाको स्वाद पाइन्छ । त्यतिमात्र होईन, यहाँ नेवारी खाजा सेट, योःमरी, ममः, चटामरी, बारालगायतका परिकारहरुको स्वादपनि लिन पाइने उनले बताए । नेवार समुदाय भोजका लागि प्रख्यात छ । यसलाई नै लक्षित गरेर ज्वःजलपामा नेवाः भ्वयःसमेत तयार गरिने सञ्चालक देसार बताउँछन् । यहाँ नेवारी परम्परागत भोजमा प्रयोग हुने वासादेखि अहिलेको युवा पुस्ताले रुचाउने हुक्कासमेत थरीथरी स्वादमा पाइन्छ ।
लकडाउन अघिसम्म नेवारी स्वाद लिन आउनेको भीड लाग्ने ज्वःजलपामा अहिले भने ग्राहक घटेका छन् । ‘पहिलेको तुलनामा ब्यापार केहि घटेको मात्र हो, नेवारी संस्कार, संस्कृती र परम्परा मन पराउने हरेक पोखरेली यहाँ आउनेमा हामी ढुक्क छौं’–अर्का सञ्चालक भाष्करध्वज श्रेष्ठले भने । उनले थपे,‘नेवारी संस्कार, संस्कृति र परम्परा बुझ्न यहाँका मान्छे कीर्तिपुर पुग्नुपर्छ, तर हामीले पोखरामै त्यो अनुभूति दिलाउने कोशिष गरिरहेका छौं ।’

श्रेष्ठले नेवारी परिकारको स्वाद सस्तो मूल्यमा खुवाउने गरेको बताए । ‘काठमाडौं कीर्तिपुरको स्वाद यहिं दिइरहेका छौं, त्योपनि सस्तो मूल्यमा’–उनले भने । उनले एक सय जनासम्मको भोज खुवाउनसमेत सकिने बताए । समूहमा आउनेलाई छुटसमेत दिइने उनले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





