पुलको नामकरण गर्ने नगरपालिकाबाट पुरस्कृत


     एभरेस्ट आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित




बागलुङ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ ।

पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद रु २५ हजारले पुरस्कृत गरेको हो । सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला राखेका थिए ।

शहीद दिवसमा आइतबार आयोजित कार्यक्रममा बाङ्गेचौरमा रहेको शहीदपार्कको मध्यभागबाट पर्वत जोड्ने गरी कालीगण्डकी खोचमा बनेको पुलको नामकरण गर्ने सापकोटालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार हस्तान्तरण गरेका छन् । नगरपालिकाले पुलको नामकरणका लागि सार्वजनिक सूचना गरेको थियो ।

उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा बनेको नाम छनोट समितिले उत्कृष्ट २५ नाम छनोट गरेको थियो । सापकोटाले नाम मात्रै राखेनन् उनले राखेको नामको विस्तृत अर्थसमेत समावेश गरेका थिए । पाँच सय ६७ मिटर लामो पुललाई आवतजावतको साधन मात्रै नभई बागलुङको पर्यटनसँग जोड्ने भन्दै नामकरण गरिएको हो । बागलुङका झण्डै ५०० बढी झोलुङ्गे पुलमध्ये नामकरण भएको यो पहिलो पुल हो । अन्य पुलमा सोही ठाउँ वा खोला, नदीमाथिको पुल भनेर चिन्ने गरिन्छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।