साढे सात महिनापछि मेयर जिसी महानगर कार्यालय फर्किए


     एभरेस्ट आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित




पोखरा, माघ १७

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सोमबारदेखि कार्यालय फर्किएका छन् । साउन पहिलो साता मस्तिष्क घात भएपछि उपचारमा रहेका मेयर जिसी साढे सात महिनापछि महानगर फर्किएका हुन् । मेयर जिसीको गत साउन १ गते घरमा सुतिरहेका बेला मस्तिष्क घात भएको थियो । शुरुमा पोखरामै उपचार गरिएपनि सुधार नभएपछि उनलाई थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं लगिएको थियो ।

उपचार पश्चात असोजमा पोखरा फर्किएका जिसी घरमै आराम गरेर बस्दै आएका थिए । उनी अहिलेपनि नियमित थेरापीमा छन् । आरामकै बिचमा पनि पार्टीको कार्यक्रममा अक्कलझुक्कल निस्कने गरेका उनी महानगरको कार्यालय भने फर्केका थिएनन् । बरु उनले कार्यालयको कामलाई सहज बनाउन उप प्रमुख मञ्जुदेवी गुरुङलाई कार्यवाहक मेयरको जिम्मेवारी सुम्पिए ।

तर उनी महानगर कार्यालय गएर अब नियमित काममा फर्किने संकेत गरेका छन् । यद्वपी उनले सम्पूर्ण जिम्मेवारी भने लिइनहाल्ने मेयर जिसीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मेयर जिसी केहि दिन दैनिक एक÷डेढ घण्टा कार्यालयमा बस्ने र उक्त समय कार्यालयको काम भन्दापनि भेटघाटमा व्यस्त रहनेछन् । सोहि अनुसार मेयर जिसीले सोमबार कार्यवाहकको जिम्मेवारी पाएका उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगरका प्रवक्ता धनबहादुर नेपाली, पोखरा–१६ का वडाध्यक्ष जीवन आचार्य, कानूनी सल्लाहकार कमल अर्याल, महानगरका सूचना अधिकारी भरतराज पौडेललगायतसँग भेटघाट गरे ।

त्यस्तै आजै मेयर जिसीले पोखरा–४ र ५ जोड्ने निर्माणाधीन फिर्के खोला पुलको अवलोकन गरेको सचिवालयले जनाएको छ ।

मेयर जिसी कार्यालय गएपनि उपप्रमुख मञ्जुदेवी गुरुङलाई दिइएको कार्यवाहकको जिम्मेवारी फिर्ता लिइसकेका छैनन् । स्वास्थ्यले कत्तिको साथ दिन्छ त्यसको आधारमा जिम्मेवारी लिन÷नलिने टुंगो लाग्ने मेयर जिसीको सचिवालय श्रोतले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।