मन्त्रिपरिषद् निर्णय : विश्व बैंकसँग रु १७ अर्ब सहुलितपूर्ण ऋण लिइने


     एभरेस्ट आवाज    
     माघ १८ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

काठमाण्डौं । नेपाल सरकारले विश्व बैँकसँग ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’ वापत् प्राप्त हुने १५० मिलियन अमेरिकी डलर ( करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ ।

नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।

बैठकले हिमाल आरोहण दल ९नेपाली सेना०का सदस्यलाई सलामी दस्तुर र धरौटी रकम छुट दिने, शिक्षक अस्पताल स्थापनाका लागि प्रक्रिया सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने, यही माघ १९ गते सोनाम ल्होसारका अवसरमा नेपालभरका कार्यालयमा बिदा दिनेलगायत निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजङ्ग साहलाई बढीमा चार वर्षका लागि नियुक्ति दिने, नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा प्रा डा शिलु मानन्धरलाई नियुक्ति दिने, सरकारको सचिव पदमा सहसचिव रामेश्वर दङ्गाललाई बढुवा गर्ने, लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिशमा विभिन्न कर्मचारीलाई राजपत्राङ्कित प्रथम श्रेणी र सो सरहको पदमा बढुवा गर्ने, कच्चा दूधको न्यूनतम् मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय गरेको छ ।

साथै बैठकले विभिन्न मालपोत र नापी कार्यालयका लागि कार्यक्षेत्र निर्धारण पनि गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।